सेयर बजार घट्ने क्रमले यो साता पुनः निरन्तरता

127

काठमाडौं । गत साताको अन्तिम दुई दिन लयमा देखिएको सेयर बजार घट्ने क्रमले यो साता पुनः निरन्तरता पाएको छ । साताको पहिलो कारोबार दिन नै ६१ अंकको गिरावट भएको बजारमा आज दोस्रो दिन  सोमाबार पनि ७३ अंकको उच्च गिरावट हुँदा नेप्से २७०० अंकको बिन्दुबाट पुन ओर्लिएको छ ।

आज बजार परिसूचक नेप्से ७३.०५ अंकको गिरावट हुँदा २६८५.४१ अंकमा बन्द भएको छ । भदौ ३ गते ऐतिहासिक ३२०० अंकको उचाई कायम गरेर घट्न सुरु भएको नेप्सेमा गत साता उतारचढावबीच इन्ट्रा–डे कारोबारमा २६१३.८७ अंकसम्म झरे पनि नेप्सेको क्लोजिङ बिन्दु भने २६९८.२५ अंकबाट तर झरेको थिएन । तर, हिजो र आजको उच्च गिरावट पछि नेप्से २०७८ वैशाख ३० यताकै न्यून बिन्दुमा आएर बन्द भएको छ ।

सेयर बजारमा परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आज नेप्सेमा १ करोड ४ लाख ७८ हजार ०६८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजारको कारोबार भएको छ ।  आज बजार परिसूचकसँगै सबै उपसूचकमा पनि गिरावट आएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा नै २.२६ प्रतिशतको गिरावट हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ४.५३ प्रतिशतले घटेको छ । यस्तै विकास बैंक उपसूचक ३.८१ प्रतिशत, निर्जीवन बिमा उपसूचक ३.६२ प्रतिशत र लगानी उपसूचक ३.१ प्रतिशतले घटेको छ । यस्तै जीवन बिमा उपसूचकमा २.८५ प्रतिशत र  हाइड्रोपावर उपसूचकमा २.६८ प्रतिशतको गिरावट भएको छ ।

घटेको बजारमा कारोबार रकममा अरुण भ्याली हाइड्रोपावरले लिड गरेको छ । कम्पनीको  करिब साढे १५ करोडको कारोबार हुँदा युनाइटेड मोदी हाइड्रोपावरको साढे १३ करोड, हिमालयन डिस्टिलरीको करिब १३ करोड, नेपाल बैंकको १२ करोड ८५ लाख र नेशनल हाइड्रोपावरको करिब १२ करोडको सेयर किनबेच भएको छ ।

आज नेप्सेमा कुल १८५ कम्पनीको  सेयर कारोबार भएकोमा १८२ कम्पनीको  सेयरमूल्य घटेको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य भने बढेको छ । सेयरमूल्य बढेको ३ कम्पनीमध्ये मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।

यसबाहेक गोर्खाज फाइनान्सको सेयरमूल्य ६.०८ प्रतिशत बढेको छ ।  यता सवार्धिक सेयरमूल्य घट्नेमा भने गुडविल फाइनान्स छ । कम्पनी   सेयरमूल्य ७.८३ प्रतिशतले घटेको छ भने युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयरमूल्य ७.७३ प्रतिशत, नेपाल फाइनान्सको सेयरमूल्य ७.७२ प्रतिशत, कालिका पावरको सेयरमूल्य ७.७१ प्रतिशत र पोखरा फाइनान्सको सेयरमूल्य ७.२० प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here