काठमाडौं । सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गृहमन्त्रालयले सोमबार सर्वोच्च अदालत र नेपाल बार परिसरमा सम्भावित मुठभेड हुने संकेत पाएपछि दंगा प्रहरी परिचालन गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरु सर्वोच्चमै धर्ना बसेपछि सुरक्षा व्यवस्थालाई थप कडा पारिएको हो। केही दिनअघि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनका अधिकारीहरुबीच इजलासबारे विवाद सृजना हुँदा कुटाकुट समेत भएको थियो।
सर्वोच्च परिसरमा ५० बढी दंगा प्रहरी परिचालन गरिएको छ। आन्दोलनमा दंगा प्रहरी परिचालन गरेपछि कानुन व्यवसायीहरुले खेद प्रकट गरेका छन्। सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले सर्वोच्चभित्र प्रहरी परिचालन गरेर न्यायापालिकाको हुर्मत लिने काम गरेको बताए। उनले अन्नपूर्णसँग भने,’ कानुन व्यवसायीहरुको भद्र आन्दोलनमा प्रहरी परिचालन गरिएको छ। यो इतिहासमै पहिलो घटना हो। यस्ता किसिमका कामकारबाहीले न्यायीक मूल्य-मान्यतामाथि गम्भीर उपहास भएको छ।’
उनले सर्वोच्चको पहरेदार संस्थाले सांकेतिक रुपमा विरोध गर्दा प्रहरी परिचालन गरिनु अत्यन्तै निन्दनीय भएको बताए। उनले पुन:यस्ता कार्य नगर्न सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन्। जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसरमा धर्नामा बसेका हुन्। विरोधको पूर्वनिर्धारित कार्यक्रमअनुसार उनीहरुले हातमा कालो पट्टी बाँधेर सर्वोच्च परिसरमा धर्ना दिएका हुन् ।
बहस बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका वकिलहरुले जबराले राजीनामा नदिएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।


















