देशमै पहिलो पटक श्वेतमाथा कलहाँस

144

धनगढी ।नेपालमा चितवनभन्दा पश्चिम पहिलो पटक कैलालीमा श्वेतमाथा कलहाँस अभिलेख गरिएको छ । टीकापुर नगरपालिकास्थित श्रीलङ्का टापु भनेर चिनिने कर्णाली र मोहना नदीको दोभानमा श्वेतमाथा कलहाँस देखिएका हुन् ।

केही दिन अगाडि सो टापुमा छ वटा श्वेतमाथा कलहाँस आफूले अभिलेख गरेको चरा संरक्षणकर्मी चराविद् हिरुलाल डङ्गौराले जानकारी दिनुभयो । यो नेपालमा अभिलेख गरिएको सबैभन्दा बढी सङ्ख्या थियो । चितवनभन्दा पश्चिमतिर पहिलो पटक यहाँ देखिएको स्वेतमाथा कलहाँसको सङ्ख्या नै अब नेपालका लागि सबैभन्दा बढी रहेको डङ्गौराले उल्लेख गर्नुभयो ।

यसअघि सन् २०१८ मा चितवनस्थित रापती नदीको दोभानमा चार वटा श्वेतमाथा कलहाँस अभिलेख गरिएको थियो । नेपालका लागि फिरन्ते प्रजाति मानिने यो चरा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसीएन) को रातो सूचीमा सामान्य अवस्थामा छ । तर हाम्रो मुलुकमा अत्यन्त थोरै ठाउँमा र थोरै सङ्ख्यामा देखिने गरेको डङ्गौराले उल्लेख गर्नुभयो ।

हाम्रो मुलुकमा श्वेतामाथा कलहाँस पहिलो पटक सन २००४ मार्च २४ मा कोशी टप्पुमा अभिलेख गरिएको थियो । त्यो बेला जम्मा एउटा श्वेतमाथा कलहाँस देखिएको थियो । त्यसपछि सन २००५ मा कोशी टप्पुमै सो चरा प्रजाति देखिएको थियो । सन २०१७ को डिसेम्बर ९ मा ऋषी बरामले सोही चरा प्रजातिलाई पोखरामा अभिलेख गर्नुभएको थियो ।

यो चरा प्रजाति चीन, ओमान, कतार, साउदी अरेबिया, पाकिस्तान, म्यानमार, भारत, कोरिया, जापान, फ्रान्स, जर्मनी, इजरायल, रोमानियालगायत विश्वका विभिन्न मुलुकमा पाइने गरेको वर्ड लाइफ इन्टरनेशनलमा उल्लेख छ । श्वेतमाथा कलहाँस नेपालमा बसाइँ सरेर आउने चरा प्रजाति हो । हिउँद लागेपछि अहिले कैलालीको तालतलैया, नदीनालामा सयाैं माइल टाढाबाट बसाइँ सरेर आउने जलपंक्षीको चहलपहल बढेको अविनाश चौधरीले अाजकाे गाेरखापत्रमा समाचार लेखका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here