
सिरियामा बम आक्रमणमा परी खुट्टा गुमाएका बुवाले पाखुरा र गोडा नभएका छोरालाई उचालिरहेको एउटा तस्बिर गत वर्ष निकै भाइरल भएको थियो।
टर्कीका फोटोग्राफर मेहमेत अल्सानले खिचेको उक्त तस्बिरमा वैशाखी टेकेर मुन्जिर एल नेजेल आफ्ना छोरा मुस्ताफालाई उठाइरहेका थिए। यो तस्बिर टर्की र सिरियाको सीमानजिकै खिचिएको थियो। पछिल्लो समय उनीहरू टर्कीको शरणार्थी शिविरमा बसिरहेका थिए।
बाबु-छोरा हाँसिरहेको उक्त तस्बिरले संसारभरि चर्चा पाएको थियो भने सिएना अवार्डमा फोटो अफ द इयरको उपाधि जितेको थियो।
अवार्ड आयोजकहरूले त्यसपछि अल्सान र उनका छोराको उपचारमा सहयोग गर्न पैसा उठाउने अभियान थालेका थिए। उनीहरूले कूटनीतिक नियोग, अस्पताल र सिएनाका चर्चहरूसँग सहकार्य गरे।
द न्युयोर्क टाइम्सका अनुसार अहिले अल्सान र उनका छोरा परिवारसहित इटाली पुगेका छन्। गत महिना उनीहरूको भिसा लागेको खबर पाउँदा ६ वर्षका मुस्ताफा निकै खुसी भएका थिए।
मुस्ताफा पेटमै हुँदा उनकी आमाले खाएको औषधीका कारण उनी यस्तो अवस्थामा जन्मिएका हुन्। सिरियामा युद्धका क्रममा नर्भ ग्यास छोडिएपछि गर्भवती रहेकी उनकी आमा बिरामी परेकी थिइन्।
उनका बुवाको उपचार भने चाँडै सकिने डाक्टरहरूको भनाइ छ।
सिरियामा सन् २०११ देखि गृहयुद्ध जारी छ। राष्ट्रपति बसर अल असदको सरकारले विद्रोहीहरूलाई समाप्त गर्न घातक हतियारहरू प्रयोग गर्ने गरेको छ।
सिरियाको युद्धमा अहिलेसम्म साढे ३ लाख बढी मानिसहरूले ज्यान गुमाएका छन् लाखौं विस्थापित भएका छन्।

















