राष्ट्रघाती एमसीसी पारित गराउन एमालेलाई सरकारमा आउन प्रमकाे आग्रह

42

काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता अनुमोदन गर्नका लागि एमालेको साथ लिने निर्णयमा पुगेका देउवाले बिहीबार साँझ बालुवाटारमा भएको वार्तामा यस्तो प्रस्ताव गरेका हुन् ।

बिहीबार दिउँसो र साँझ गरेर देउवा र ओलीबीच दुई चरणको वार्ता सम्पन्न भएको छ ।

बिहीबार दिउँसो प्रतिनिधिसभाको बैठक स्थगित भए पछि संसद भवनमा नै भएको पहिलो चरणको वार्तामा यी दुई नेताहरुले साँझ फेरि भेट्ने योजना बनाएका थिए ।

एमसिसी अनुमोदन गर्न देउवालाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले साथ नदिने भए पछि उनले गठबन्धन तोड्ने र एमालेको साथ लिएर एमसिसी पारित गर्ने योजना बनाएका हुन् । उनको यो योजनामा एमाले पनि सकारात्मक देखिएको छ ।

दिउँसो बानेश्वरमा भएको वार्तापछि नेकपा उपाध्यक्ष सुवास नेम्वाङले भनेका थिए, ‘कांग्रेससँगको वार्ता सकारात्मक छ ।’

एमालेले बिहीबारका दुवै वार्तामा आफूले यसअघि राख्दै आएका मागहरु पूरा हुनु पर्ने सर्त राखेको थियो । एमालेले आफूले कारवाही गरेका माधव नेपालसहितका १४ सांसदलाई कारवाही गर्नु पर्ने, सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनु पर्ने माग राखेको छ ।

त्यस्तै, एमालेले अहिलेको सत्तारुढ पाँच दलीय गठबन्धन पनि टुक्रिनु पर्ने माग राखेको थियो । देउवा यी तीनमध्ये सभामुखलाई हटाउने विषयमा बाहेक अन्य मागमा सकारात्मक देखिएका छन् । तत्काल सभामुख हटाउँदा एमसिसी पारित हुन ढिला हुने उनको बुझाइ छ ।

बिहीबार बालुवाटारमा भएको वार्तामा देउवाले ओलीसँग संघीय सरकारमा पनि सहभागी हुन अनुरोध गरेको वार्तामा रहेका एक नेताले  बताए ।

‘तर, ओलीले यो कुरामा कुनै प्रतिक्रिया दिएनन्,’ ती नेताले भने ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने बालुवाटार बैठक निष्कर्षविहिन भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here