युक्रेनमा अध्ययनरत नेपाली विद्यार्थी ज्यान बचाउन स्लोभाकिया भाग्न बाध्य

62

काठमाडौं  । कञ्चनपुरका विजय पाण्डे दुई महिनाअघि एमबीबीएस पढ्न युक्रेन गएका थिए। युक्रेनको पश्चिमी भेगमा रहेको उज्जोरोड शहरको ‘उज्जोरोड राष्ट्रिय विश्वविद्यालय’मा अध्ययनरत २१ वर्षिया पाण्डेले त्यहाँ पुगेदेखि नै रुसले आक्रमण गर्न सक्ने समाचार सुनिरहेका थिए। तर, सामान्य हल्लाबीच नै रुसले छिमकी युक्रेनमाथि आक्रमण नै गरिहाल्छ भन्ने उनले सोचेका थिएनन्।

२४ फेब्रुअरीमा आफ्नो देशको टेलिभिजनमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई अलग देशको मान्यता दिए र आफ्ना सैनिकलाई रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिण पूर्वी क्षेत्रमा प्रवेश गर्न आदेश दिए।

त्यसपछि युक्रेनमाथि बमबारी सुरु भए।

रुसले सेना पठाउने घोषणा गरेको केही समयमा नै युक्रेनको अवस्था बिग्रियो। मानिसहरुमा त्रास फैलियो। धेरै मानिसहरु एटीएममा लामबद्ध भए। विमानस्थलहरु भरिए। सडकमा देश छाड्न खोज्नेहरुको भीड बढ्यो।

‘रसियाले युक्रेनमाथि युद्धको घोषणा गरेको केही मिनेटमै अवस्था बिग्रँदै गयो’, युक्रेनबाट सुरक्षित हुन स्लोभाकिया पुगेका उनले भने, ‘देशभित्र सबैतिर त्रास फैलियो। युक्रेनका मानिसहरुसँगै अन्य देशबाट अध्ययन र कामका लागि यहाँ आएका मानिसहरुमा डर र त्रास भरिएको थियो। हामी सबैं आत्तिन थाल्यौं।’

पुटिनको घोषणापछि युक्रेनको क्रिमियातर्फका सिमानाका क्षेत्रसँगै राजधानी किभमा पनि रुसी सेनाले हमला सुरु गरेको थियो। युक्रेनमा अचानक भड्किएको द्वन्द्वलाई लिएर अन्य देशहरुले आफ्ना नागरिकलाई स्वदेश ल्याउने जमर्को गरिरहेका थिए। केही देशले अगाडि नै आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेका थिए।

तर, युक्रेनमा भएका नेपाली नागरिक भने आफ्नो सुरक्षालाई लिएर चिन्तित भए। पाण्डेका अनुसार युक्रेनमा रुसी सैनिकले हमला गर्न सुरु गरेसँगै त्यहाँका मानिसहरु सुरक्षा र शरण लिन युक्रेन छाडेर छिमेकी देशमा भाग्न सुरु गरेका थिए। त्यसैमा उनी पनि मिसिए।

दुई महिनाअघि अध्ययनका लागि युक्रेन पुगेका उनी सुरक्षा खोज्न स्लोभाकियातर्फ भागे।

भन्छन्, ‘हामीसँग यो बाहेक अरु विकल्प थिएन। हाम्रा थुप्रै भारतीय साथीहरुलाई उनीहरुको सरकारले उद्धार गर्ने विश्वास दिलाएको थियो। तर, नेपालीको लागि अवस्था निकै फरक थियो। हामीले आफ्नो सुरक्षाको व्यवस्थापन आफैंले गर्नुपर्ने अवस्था थियो।’

पाण्डे र उनका साथीहरु युद्धग्रस्त देशमा बस्नु भन्दा भाग्ने मनसायमा पुगे। तर, यात्रा लामो र थकित बनाउने थियो। त्यसमाथि युक्रेनमा भइरहेको हमलाले उनीहरुमा डर र त्रास भरिएको थियो।  यता नेपालमा भने परिवारका सदस्यहरु चिन्तित थिए।

‘हामीले गर्नुपर्ने पहिलो काम आफूलाई सुरक्षित स्थानमा लैजानु थियो,’ पाण्डे भन्छन्। उनीहरु युक्रेनबाट स्लोभाकियाको सिमातर्फ लागे। करिब १० घण्टाको यात्रापछि मात्रै उनीहरु युक्रेन छाड्न सफल भए। ‘मलाई युक्रेन–स्लोभाकियाको सिमानामा आइपुगेर पार गर्न १० घण्टा लाग्यो,’ पाण्डे भन्छन्, ‘पहिले सीमा पार गर्न सजिलो थियो। तर, अहिले परिस्थिति फेरिएको छ। हजारौं युक्रेनी नागरिकले देश छाडिरहेकोले अहिले सिमानामा अत्यधिक भीड छ। अहिले सुरक्षित स्थानमा पुग्न धेरै समय लाग्छ।’

युक्रेनबाट भागेर स्लोभाकिया पुगेका पाण्डे अन्य चार नेपालीको साथमा छन्। उनीहरुसँग दुई अन्य देशका नागरिक पनि छन्। पाण्डेका अनुसार उनीहरु अहिले सुरक्षित स्थानमा छन्। युक्रेन छाडिरहँदा उनीहरुका एक साथी त्रासका कारण कतै बाटो भुल्न पुगेका थिए। अहिले उनी पनि सम्पर्कमा आएको पाण्डेले बताए।

‘हामीले युक्रेनी ट्याक्सी भाडामा लिएर छाडेका थियौ,’ पाण्डे भन्छन्, ‘युक्रेन छाड्ने मानिसहरुको संख्या बढिरहेकाले स्लोभाकियाले अहिले दुई वटा प्रवेश गर्ने ठाउँ बनाएको छ– एउटा युक्रेनी नागरिकका लागि र अर्को अन्य देशका नागरिकका लागि। सिमानाकै क्षेत्रमा बस्नेहरुलाई सीमा पार गरेर आउन सहज थियो। तर, युक्रेनको मुख्य भाग र युद्धले ग्रस्त शहरहरुमा बस्नेहरुलाई यता आउन अफ्ठ्यारो छ।’

नेपालबाट पाण्डे पढिरहेको कलेजमा अन्य दुई नेपाली विद्यार्थी एमबीबीएस अध्ययनका लागि छानिएका थिए। हाल उनीहरुमध्ये एक हंगेरीतर्फ जाँदै गरेको र एक जना पोर्चुगल पुगेको पाण्डे बताउँछन्।

युक्रेनको परिस्थिति हरेक पल बिग्रिरहेको छ। मान्छेहरुले युक्रेनको सीमा पार गरेर अन्य देशमा शरण लिन जान पनि असहज अवस्था सिर्जना भएको छ। पाण्डेका अनुसार युक्रेनका शहरका गल्ली-गल्लीमा रुसी सैनिकहरु बन्दुक बोकेर बसेका छन्।

‘हिजोसम्म म एकदमै थकित थिएँ, म सुरक्षित स्थानमा पुग्नेभन्दा बाहेक अरु केही सोच्न सक्ने अवस्थामा नै थिइनँ,’  उनले भने। युक्रेन छाडेर स्लोभाकिया आएपछि केही सन्तोषको स्वास फेरेको उनी बताउँछन्।  तर, अर्को चिन्ताको विषय भने थपिएको छ। उनी भन्छन्, ‘म यहाँ युक्रेनमा एमबीबीएस पढ्न आएको थिएँ। अब करिअरको पनि चिन्ता लागेको छ। अब कस्तो अवस्था आउँछ भन्ने पनि मलाई थाहा छैन्।’

उनी ३० लाख रुपैयाँ भन्दा धेरै पैसा खर्च गरेर अध्ययनका लागि युक्रेन पुगेका थिए।

पाण्डे पढाईलाई लिएर चिन्तित भएपनि हालको महत्व सुरक्षा भएको बताउँछन्। उनी युक्रेनमा भएका हरेक नेपालीलाई युक्रेन छाडेर स्लोभाकिया आउन आग्रह गर्छन्। उनी भन्छन्, ‘यहाँ पुग्न अरुको तुलनामा सजिलो छ। म युक्रेनमा भएका नेपालीहरुको सुरक्षालाई लिएर चिन्तित छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here