एजेन्सी । रुसले युक्रेनको नयाँ तीन सहरमा आक्रमण गरेको छ। रुसले लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ। लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न फेसबुकमा लेखेका छन्। उनले नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न अनुरोध गरेका छन्।
नीप्रोमा तीन स्थानमा विस्फोट भएको बताइएको छ।नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ। यसैबीच रुसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानो-फ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रुसी समाचार माध्यमले जनाएका छन्। इभानो-फ्रान्किभिस्कका नगरप्रमुखले फेसबुक पोस्टमा आक्रमणको पुष्टि गरेका छन्। उनले शत्रुले हमला गरेको लेखेका छन्।