सत्ताइत्तरका दलबीच समेत गठबन्धन बनाउने प्रयास

77

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहेकै बेला सत्ताइत्तरका दलबीच समेत गठबन्धन बनाउने प्रयास भइरहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका छन् ।

एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन हुन सक्ने बताए । पार्टी पोलिटब्युरो बैठकमा समेत गठबन्धनका लागि सुझाव आएको बताउँदै उनले निर्णय भने अझै नभएको बताए ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमाले, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), डा सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका पार्टीसँग गठबन्धन बनाउनेमा अध्यक्ष ओली आन्तरिक छलफलमा रहेको स्रोतले जनाएको छ ।

लोसपा कार्यकारिणी समितिका एक सदस्यका अनुसार एमाले, लोसपा, जनमत, नेकपाबीच आगामी निर्वाचनमा चुनावी गठबन्धनका लागि छलफल भइरहेको छ । एमाले अध्यक्ष ओली, लोसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, जनमतका अध्यक्ष राउतका साथै नेकपा अध्यक्ष विप्लवबीच छलफल भएको हो ।

एमालेको बुधबार र बिहीबार काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बस्दै छ । सोमबार पोलिटब्युरो कमिटीको बैठक सम्पन्न गरेको एमालेमा अधिकांश सदस्यले सत्ताइतरका बीचमा चुनावी गठबन्धन गर्न सुझाव दिएका थिए ।

जनकपुरमा रहेका लोसपा नेता ठाकुर, महतोसँग ओली निरन्तर फोन सम्पर्कमा रहेका छन् । यस्तै, राउत, विप्लवसँग समेत उनको फोनवार्ता भइरहेको छ । कपिलवस्तुमा पार्टी बैठकमा रहेका विप्लव काठमाडौं आएपछि छलफल हुनेछ । छिट्टै नै नेताहरूबीच छलफल गर्दै गठबन्धनको मोडालिटी टुंगो लगाउने तयारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here