काठमाडाैं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासँग स्पष्टीकरण मागेको छ। २०७४ सालको निर्वाचनमा तोकिएभन्दा बढी खर्च गरेको कोइराला स्वयंले सार्वजनिक मञ्चबाट बताएपछि आयोगले उनीसँग ७ दिनभित्र जवाफ माग गरेका छन् ।
आयोगले २५ लाखसम्म खर्च गर्न पाउने सीमा तोकेकोमा कोइरालाले आफ्नो निर्वाचन खर्च विवरणमा २१ लाख ७५ हजार पेस गरेकाे आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। तर, कोइरालाले नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा आफूले ६ करोड खर्च भएको बताएका थिए।
‘मैले आफ्नो कुरा गर्दा नवलपरासीबाट तीनपटक जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो, दोस्रो चुनावमा त्यो तीन करोड पुग्यो । गएको चुनावमा ६ करोड खर्च भयो,’ उनले भनेका थिए।



















