भारत र चीनमा कोरोना संक्रमण बढ्न थाल्यो, नेपालमा सतर्कता जरुरी !

68

— राज्यलक्ष्मी शाक्य
नेपालमा स्थानीय निकायको चुनाव घोषणा भएको छ । तर नेपालका दुवै छिमेकी देशहरु चीन र भारतमा कोरोना संक्रमणले तिब्रता लिएको छ । कोरोना भाइरसबाट भारतमा दैनिक सङ्क्रमितहरुको सख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सक्रमण पछिल्लो केही दिनदेखि चीनमा बढिरहेको छ । दुवैतिरका नेपालका छिमेकी देशहरुमा संक्रमण बढेपछि अव नेपाल चेपुवामा पर्ने निश्चित छ ।
गत सोमबारसम्म दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ५० जना सक्रमित भएका छन् । त्यसैगरी पछिल्लो एक दिनमा १ हजार ९ सय ८५ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएको जनाइएको छ । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ११ हजार ५ सय ४२ जना सक्रिय संक्रमितहरु रहेको जनाएको छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर सङ्क्रमणमुक्त भइसकेकाहरुको संख्या चार करोड २५ लाख १० हजार ७ सय ७३ पुगेको छ । कूल संक्रमित मध्ये ९८.७६ प्रतिशत संक्रमण मुक्त भएको समाचारमा जनाइएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ५ लाख २१ हजार ९ सय ६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । भारतको संक्रमणदर बढेपछि यस अघिका भेरियन्टहरु पनि नेपालमा बढेको पाइएको छ । भारततर्पm खुल्ला सीमाना भएको कारण र आवागमन अव्यवस्थित र अनियन्त्रित भएका कारण पनि नेपालमा संक्रमण दर भारतबाट प्रभावित हुने सम्भावना बलियो रहन्छ । रोजगारीका निम्ति भारत गएका र व्यापारिक कारोबारसमेत भारततर्पm गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेका नेपालीको निम्ति भारतमा संक्रमण हुँदा संक्रमित बन्नु नियति जस्तै बन्न पुगेको छ ।
त्यसैगरी चीनको आर्थिक केन्द्र मानिने सांघाईमा सहरमा कोरोनाकै कारण लकडाउन जारी गरिएको छ । लकडाउनपछि पनि कोरोना संक्रमणबाट पहिलोपटक तीनजनाको मृत्यु भएको जनाइएको छ ।
स्थानीय स्वास्थ्य आयोगद्वारा जारी विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ । आयोगका अनुसार ती तीनैजनाले कोभिडविरुद्ध खोप समेत लगाएका थिएनन् । त्यसैले खोप नलगाएकाहरु माथि संक्रमण विस्तार हुन सक्ने आंकलन गरिएको छ । सांघाईमा यसअघि कोभिडका कारण कसैको मृत्यु भएको थिएन । यस्तो दाबी स्वास्थ्य आयोगले गरेको छ । सांघाईमा यो लेख तयार पार्दासम्म थप २२ हजार २ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । कोरोना नियन्त्रण गर्ने उद्देश्यले केही सातायता सांघाईमा लकडाउन गरिएको छ । यता पनि भारतमा जस्तै ओमिक्रोन भेरिएन्टले नै सक्रियता देखाएको छ । कोरोना भेरियन्ट पुष्टि भएका कारण संघाईमा कोरोनाको प्रकोप फैलिएको पत्ता लागेपछि लकडाउन जारी गरिएको जनाइएको छ । लकडाउनका कारण दसौँ लाख मानिस अहिले घरभित्र बस्न बाध्य छन् ।
नेपालमा भने नयाँ भेरियन्ट फेला परेको छैन । तर नेपालमा बाहिरबाट आउने यात्रुहरुको परिक्षण व्यवस्थित पनि छैन । परिक्षण व्यवस्थित नभएका कारणबाट नेपालमा नँया भेरियन्ट संक्रमण हुने सम्भावना बलियो छ । नेपाल सरकारले परिक्षणलाई फराकिलो बनाएर बाहिर मुलुकबाट नेपाल भित्रिने विमानस्थल लगायतका सडक नाकाहरुमा व्यवस्थित परिक्षणको व्यवस्था गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here