कांग्रेस महामन्त्री शर्माद्वारा मतदान

67

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँले आज बिहान उहाँले मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले देशभर उत्साहपूर्वक मतदान भइरहेको र  कांग्रेसको पक्षमा नतिजा आउने विश्वास रहेको बताउनुभयो ।

यसैबीच मेचीनगरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र ) र जनता समाजवादी पार्टीको गठबन्धनका तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बन्नुभएको इन्द्र बुढाथोकीले मेचीनगर १० को शिशु साक्षर मतदान केन्द्रमा मतदान गर्नुभयो । सोही वडाको हरि आधारभूत विद्यालय मतदान केन्द्रमा मेचीनगरमा नेकपा (एमाले)बाट नगरप्रमुख पदमा उम्मेदवार गोपालचन्द्र बुढाथोकीले समेत मतदान गर्नुभयो ।

आज बिहानैदेखि मौसम शीतल भएकाले मतदाता उत्साहित भएर मतदान केन्द्रमा लामबद्ध भएका छन् । मेचीनगरमा ९० हजार २०२ मतदाता छन् । ती मध्येमा ४५ हजार ९० महिला र ४५ हजार ११२ पुरुष मतदाता छन् ।

निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगरमा ३२० उम्मेदवार रहेको जानकारी दिनुभयो । तीमध्ये एमालेको तर्फबाट एक  दलित महिला उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

मेचीनगरमा ३५  मतदानस्थल र १०२  मतदान केन्द्र छ । मेचीनगरमा ८१६ जना कर्मचारीसहित सुरक्षाकर्मी र पर्यवेक्षक चुनावमा खटिएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here