विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्स फ्रान्समा सुरु

82

काठमाडौं । रुस-युक्रेन युद्धको छायाँबीच विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्स फ्रान्समा सुरु भएको छ ।

फेस्टिभल उद्घाटन समारोहलाई भर्चुअल सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एडोल्फ हिटलरलाई चार्ली च्याप्लीनले ब्यंग्य गरेकै शैलीमा तानाशाहसँग जुध्न युवा फिल्ममेकरलाई आग्रह गरे ।

माइकल हाजानाभिसियस निर्देशित जम्बोइ फिल्म ‘जेड’ हेर्न प्रिमियरमा उपस्थित आगन्तुकलाई भर्चुअल स्वागत गर्न जेलेन्स्कीले औपचारिक पोशाकमै प्रस्तुत थिए ।

युक्रेनको पछिल्लो स्थितीलाई चित्रण गर्न राष्ट्रपति जेलेस्न्कीले फोर्ड कोपोलाको ‘एपोक्लिप्स नाउ’ र चार्ली च्याप्लिनको ‘द ग्रेट डिक्ट्याटर’ फिल्म हेर्न सिफारिस गरेका थिए ।

जेलेन्स्कीले सन् दोस्रो विश्वयुद्धको प्रारम्भिक दिनहरुमा सन् १९४० मा जारी भएको ‘द ग्रेट डिक्टेटर’मा उल्लेख अन्तिम भाषण उध्दृत गरे, ‘मानिसहरुको घृणा समाप्त हुनेछ । तानाशाहको अन्त्य हुनेछ र उनीहरुले जनताबाट लिएको शक्ति फिर्ता हुनेछ ।’

‘हामीलाई नयाँ च्याप्लिन चाहिन्छ जसले हाम्रो समयको सिनेमा मौन छैन भनेर देखाउनेछ’ जेलेन्स्कीले भने । यसवर्ष कान्समा रुसी फिल्म निर्माता, डेलिगेट्स र सरकारी अधिकारीलाई प्रतिबन्ध लगाइएको छ ।

कान्समा यसपटक रुस–युक्रेन युद्धमा युक्रेनको पक्षमा समर्थन गर्ने फिल्म ‘जेड’ प्रिमियर गरियो । मंगलबार आयोजना गरिएको रेडकार्पेटमा इभा लोंगोरियो, जुलियाना मुर्रे, बेरेनिसो बेजो र ‘नो टाइम टु डाइ’ स्टार लासाना लिन्चले औपचारिक पोशाकमा रेडकार्पेट नापे ।

आगामी १२ दिनसम्म संसारका २१ फिल्मले पामदे ओर पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । पछिल्लो समय कान्समा उत्कृष्ट भएका फिल्मले नै ओस्कारमा बाजी मारेकाले कान्समा फिल्म स्क्रिनिङ गर्न संसारका चर्चित फिल्ममेकर उत्रिएका छन् ।

यसपटक टम क्रुजको ‘टप गन माभेरिक’ फिल्म स्क्रिनिङ हुनेछ । स्वयम अभिनेता क्रुज रेडकार्पेटमा हिँड्नेछन् ।

कोरोना महामारीको कारण दुईवर्षपछि विश्व सिनेमाकै भव्य जमघट सुरु भएको हो । ‘प्रिय साथीहरु, अँध्यारो समयबाट सबैजनालाई बाहिर स्वागत छ’ होस्ट भर्जानी एफिराले भनिन् ।

मंगलबार कान्सका जुरी पनि सार्वजनिक गरियो । जुरी सदस्यमा फ्रान्सेली अभिनेता भिन्सेन्ट लिन्डन, बलिउड अभिनेत्री दीपिका पादुकोण, रेबेका हल, असगर फरादी लगायत छन् । यसपटक पाँचजना महिला फिल्म निर्देशकका फिल्महरु पाम दे ओर पुरस्कार जित्ने प्रतिस्पर्धामा छन् ।

यसपटक नेपालले पहिलोपटक औपचारिकरुपमा प्रतिस्पर्धामा भाग लिएको छ । अविनाशविक्रम शाहको छोटो फिल्म ‘लोरी’ प्रतिस्पर्धामा छानिएको छ  । आफू अभिनित इटालीको फिल्म ‘द एइट् माउन्टेन्स’ प्रिमियरमा भाग लिन नेपाली अभिनेत्री सुरक्षा पन्त पनि कान्समा गएकी छन् ।

उक्त फिल्म आज कान्समा प्रिमियर हुने तालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here