समाजवादको यात्रामा बाम ध्रुबीकरणको आवश्यकता !

138
नेपालको कम्युनिष्ट आन्दोलन कम्युनिष्ट आदर्श अनुरुप अगाडि बढ्न सकिरहेको छैन भन्ने कुरामा सबैको सहमति पाईन्छ । यसै तथ्यलाई महशुस गरेर हुनसक्छ  संसद भित्र र संसद बाहिर रहेका सबै कम्युनिष्ट पार्टीका नेताहरु कम्युनिष्ट पार्टीहरुबीच एकता कायम गरेर अगाडि बढ्नु पर्ने आवश्यकतालाई महशुस गरिरहेका छन् र त्यसका लागि प्रयासहरु पनि भैरहेका छन् ।
लामो समयसम्म नेकपा एमाले शीर्ष नेतृत्वमै रहेका नेता बामदेव गौतमले आफूलाई स्वतंत्र ब्यक्तिका रुपमा चिनाउँदै कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको भन्दै एकताका लागि राष्ट्रिय अभियान नै सुरु गरेका छन् । यही असार ११ गते राष्ट्रिय भेला नै बोलाईएको छ । कुनै पार्टीको ब्यानर नबोकेर कम्युनिष्ट एकताका लागि सुरु भएको यो अभियानले सार्थक परिणाम दिन सक्ने आशा पलाएको छ ।
यसैबीच संसद बाहिर रहेका कम्युनिष्ट पार्टीहरुमा पनि एकताको पहल सुरु भएको छ ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० ले नेपालको राजनीतिक आवश्यकताका आधारमा कम्युनिष्ट पार्टीहरुसँग एकता र सहकार्य हुन सक्ने धारणा अगाडि सारेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव विप्लवले पश्चगामी नभई क्रान्तिकारी सोचको आधारमा कम्युनिष्ट पार्टीबीच एकता र सहकार्य हुन सक्ने जनाएका हुन् । पत्रकारको जिज्ञासामा उनले भने, ‘एकदिन कम्युनिष्ट शक्ति एक हुनुपर्छ र समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग पनि मिलेर अघि बढ्नुपर्ने हुनसक्छ ।’ विप्लवले विश्वमा पनि कम्युनिष्ट शक्ति कम नभएको तर आपसमा नमिलेर कमजोर देखिएको धारणा ब्यक्त गरेका छन् ।
नेता चन्दले राष्ट्रिय परिस्थितिबारे बोल्दै अहिले राष्ट्रिय स्वाधीनता जोखिममा रहेको धारणा राखेका छन् । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सबै देशभक्त नेपालीलाई एक हुन उनले अपिल समेत गरेका छन् । यस्ले स्पष्ट हुन्छ कि नेकपाले राष्ट्रिय स्वाधीनताको लागि सबै गैह्रबाम देशभक्तहरुसँग पनि सहकार्यमा जोड दिएका छन् ।
भारतको लगातार सिमा अतिक्रमण र जलसम्पदामाथिको उस्को गिद्धे दृष्टिसँगै  अमेरिकाको एमसीसी, एसपीपी जस्ता विषय नेपालको राष्ट्रियताको सवालमा गम्भिर बिषय बनिरहेको अवस्था छ ।  अमेरिकाले सैन्य ढंगबाट अतिक्रमण गर्ने प्रयास गरेको छ । बिप्लवले यसै बिषयलाई स्पष्ट पार्दै भनेका छन् (‘यो नेपाल र नेपालीका लागि राम्रो होइन ।’
 उनले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन आगामी असोजमा हुने जानकारी समेत दिए ।संसदभित्र र बाहिर गरेर नेपालमा कम्युनिष्टहरुको सशक्त उपस्थिति रहेको छ । यो वास्तबिकतालाई सबै नेताहरुले बुझेर काम गरे भने एकता सम्भव छ र कम्युनिष्ट आदर्श अनुरुप देशमा सम्बिधानसम्मतरुपमै पनि जनचाहना अनुसारको समाजबादको गन्तब्य सम्भव देखिन्छ , आगे सबै बाम नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here