भारी वर्षा भएसँगै काठमाडौं उपत्यकाका नदीहरूमा पानीको सतह बढेको छ। गए रातिदेखिको वर्षाका कारण नदीमा पानीको सतह बढेको छ। विभागका अनुसार बागमती, विष्णुमती, रूद्रमति, हनुमन्ते, मनोहरामा पानीको सतह बढिरहेको छ ।
यी नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउनसमेत विभागले आग्रह गरेको छ ।
काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ। पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ‘हाल देशका प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ,’ महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भइरहेको छ।’
हाल देशको प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको महाशाखाले जनाएको छ।