कामपाद्वारा कुल २५ अर्ब ४१ करोड ९६ लाख रुपियाँको बजेट विनियोजन

102

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख रुपियाँको बजेट विनियोजन गरेको छ । शुक्रबार महानगरपालिले आर्थिक वर्ष २०७९/०८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो ।

आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले बजेटअन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार, सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल तीन अर्ब पाँच करोड एक लाख ४७ हजार गरी कुल आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपियाँको बजेट ल्याएको जानकारी दिनुभयो ।

उहाँले स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि चार अर्ब ६८ करोड ९८ लाख ६० हजार र पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब आठ करोड ८९ लाख तीन हजार बजेट विनियोजन गरिएको बताउनुभयो ।

उपप्रमुख डङ्गोलले सामाजिक विकास क्षेत्रका लागि एक अर्ब ६२ करोड २८ लाख २२ हजार सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि चार अर्ब ४६ करोड ५८ लाख ४० हजार बजेट विनियोजन गरेको बताउनुभयो ।

उहाँले नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ एक अर्ब ३१ करोड ३७ लाख छ हजारको स्राेत सुनिश्चित भएको पनि जानकारी दिनुभयो ।

उपप्रमुख डंगोलले काठमाडौं महानगपालिकाको आर्थिक वर्ष २०७९/०८० को लागि २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरेको औंल्याउनुभयो ।

चालु आर्थिक वर्ष २०७८/०७९ मा महानगरले कुल १६ अर्ब २६ करोड २६ हजार रुपियाँको बजेट विनियोजन गरेको थियो । जसमा जेठ मसान्तसम्म चालुतर्फ तीन अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपियाँ खर्च भएको छ भने पुँजीगत एवम् पूर्वाधारतर्फ दुई अर्ब २६ करोड ८१ लाख ४६ हजार रुपियाँ र वित्तियतर्फ १८ करोड रुपियाँ गरी कुल पाँच अर्ब ९६ करोड ५९ लाख ६४ हजार खर्च भएको छ । जुन अनुमानित खर्चको ३६.६९ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here