एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिन जिनपिङले मंगलबार अल्जेरियाको स्वतन्त्रता सङ्ग्रामको विजयको ६० औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति अब्देलमादजिद तेब्बौनलाई बधाइ सन्देश पठाएका छन्।
६० वर्षअघि अल्जेरियाली जनताले कठिन संघर्षबाट राष्ट्रिय स्वाधीनता र जनमुक्तिको अनुभूति गर्दै अरब र अफ्रिकी जनताको मुक्ति आन्दोलनको गौरवशाली अध्याय खोलेको सीले बताएका छन्।
अल्जेरियाको स्वतन्त्रता क्रान्तिमा चिनियाँ सरकार र चिनियाँ जनताले सहयोग गरेको र संघर्षका क्रममा दुई देश र त्यहाँका जनताबीच गहिरो मित्रता कायम भएको उनले स्मरण गरे। हालैका वर्षहरूमा दुई देशबीचको राजनीतिक आपसी विश्वास निरन्तर सुदृढ हुँदै गएको र द्विपक्षीय व्यावहारिक सहयोग फलदायी भएको पनि राष्ट्रपति सीले बताएका छन्। साथै उनले चीन-अल्जेरिया व्यापक रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याइएकाे पनि उल्लेख गरेका छन्।
राष्ट्रपति सीले चीन-अल्जेरिया सम्बन्धको विकासलाई उच्च मूल्यांकन गर्ने र दुवै देश र जनताको हितका लागि बेल्ट एण्ड रोड इनिसिएटिभको ढाँचाभित्र सबै क्षेत्रमा द्विपक्षीय सञ्चार र सहयोगलाई अगाडि बढाउन राष्ट्रपति तेब्बौनसँग मिलेर काम गर्न तयार रहेको पनि बताएका छन्।


















