गायिका सुनारको शंकास्पद मृत्यु प्रकरणकाे अनुसन्धान सम्पन्न

67

काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सम्पन्न भएकाे छ ।

प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार प्रहरीले अहिले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

गायिका सुनार ११ असारमा नेपालटारस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धान अधिकृतहरुका अनुसार घाँटीमा ‘मार्क’बाहेक शरीरमा अन्य कुनै संकेत देखिएको थिएन । तर राति कोठामा सँगै रहेका प्रेमी गोठाटारका सूर्य श्रेष्ठ फरार रहेको खुलेपछि घटना शंकास्पद बनेको थियो ।

प्रहरी नियन्त्रणमा पुगेपछि उनले सुरुमा झुठो बयान दिएका थिए । पछि राति सँगै सुतेको सुनारलाई बिहान झुण्डिरहेको अवस्थामा देखेपछि निकालेको उनले बयान दिएका थिए । आत्तिएपछि आफू उनी झुण्डिएको सल लिएर भागेको बताएका थिए । उनकै बयानका आधारमा प्रहरीले हराएको सल पनि बरामद गरेको थियो ।

घटनास्थलको प्रकृति हेर्दा सुरुवात्मा शंकास्पद नदेखेको भन्दै प्रहरीले मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो । पोष्टमार्टम प्रतिवेदनले पनि घाँटीमा डोरी जस्तो वस्तुले थिचिएकै कारण मृत्यु भएको रिपोर्ट दिएको थियो । तर प्रतिवेदन आउन अगावै परिवारले श्रेष्ठविरुद्ध ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिएको थियो ।

सुनारले घटना भएको दिन बिहान १ः२० बजे ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिनँ, आमा’ भन्दै स्ट्याटस लेखेकी थिइन् ।

स्ट्याटसमा आफ्नो इच्छाले यो कदम उचालेको भनाइसहित ‘कसैले खोजी नीति पनि नगर्नु र पोष्टमार्टम पनि नगर्नु’ भनिएको थियो । तर स्ट्याटस लेख्न प्रयोग भएको मोबाइल प्रहरीले फेला पार्न सकेन । सुरुमा श्रेष्ठले दिएको झुठो बयान र मोबाइल पनि नभेटिएका कारण परिवारले हत्या भएको दाबी गर्दै जाहेरी दिएको थियो ।

‘जे कसूरमा म्याद थप गरेका थियौं, त्यसैमा प्रमाणहरु जुटाएर सरकारी वकिलसमक्ष प्रतिवेदन लैजाँदैछौं’ डीएसपी मिश्र भन्छन्, ‘सरकारी वकिलबाट थप कुनै सुझाव आए त्यही अनुसार हुन्छ ।’

प्रहरीका अनुसार श्रेष्ठ र दिलमाया प्रेम सम्बन्धमा थिए । तर पछिल्लो समय उनीहरुबीच सम्बन्धमा दरार आउँदै गएको थियो ।

३० वर्षीया गायिका दिलमाया लाइभ दोहोरी गीतका कारण चर्चामा आएकी थिइन् । उनले ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर पनि केही चलेका लोक दोहारी गाएकी थिइन् । केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।

उनीसँग सुन व्यवसायीले श्रेष्ठको १५ महिनाअघि चाबहिलको दर्पण छायाँ दोहोरी साँझमा भेट भएको थियो । श्रेष्ठको बयान अनुसार त्यसपछि भौतिक भेटघाट र सामाजिक सञ्जालमा कुराकानी हुँदै उनीहरुबीच निकटता बढेको थियो ।

तर पछिल्लो समय सुनारले तारन्तार गर्दा श्रेष्ठ फोन काट्ने गरेका थिए, त्यसैले सुनार विक्षिप्त थिइन् । ‘घर परिवारसँग हुन्थे, उठाउन मिल्ने अवस्थामा हुन्नथ्यो,’ उनले बयान दिएका छन्, ‘एक हप्ता वा १५ दिनमा कोठामा गएकै हुन्थेँ ।’

सुनार बस्ने घरमा बस्ने अन्यले पनि सुनार पछिल्लो समय मानसिक रुपमा अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here