कोरोना महामारीले विश्वभरका अर्थतन्त्रका लागि कठिन परिस्थिति सिर्जना

79

एजेन्सी । आर्थिक मोर्चामा विश्वमा एकपछि अर्को चुनौती थपिँदै गएको छ।

पहिले कोरोना महामारीले विश्वभरका अर्थतन्त्रका लागि कठिन परिस्थिति सिर्जना गर्यो। अहिले विश्व महँगीको प्रभावबाट त्रसित छ र विश्वव्यापी आर्थिक मन्दीको खतरा छ।

यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रमुख क्रिस्टालिना जियोर्जिभाले महँगी बढ्दै गएकोमा चेतावनी दिएकी छन्। जसले विश्वभरका नीतिनिर्माताहरुको चिन्ता बढाएको छ।

जियोर्जिभाले आगामी वर्ष अर्थात सन् २०२३ पनि थप चुनौतीपूर्ण हुने बताएकी छन्। अहिले दशकौँपछि महँगी उच्चस्तरमा पुगेका कारण विश्वभरका करोडौँ जनता गरिबीको चंगुलमा फस्ने उनले प्रस्ट पारेकी छन्।

जियोर्जिभाले एउटा ब्लग पोस्टमा ‘फेसिङ अ डार्कनिङ इकोनोमिक आउटलुकः हाउ द जी२० क्यान रेस्पोन्ड’मा यस्तो चेतावनी दिएकी हुन्। उनले यो वर्ष कम चुनौतीपूर्ण नरहेको तर आगामी वर्ष चुनौती थप गम्भीर हुने बताइन्।

जियोर्जिभाले पोस्टमा भनेका छन् कि विश्वले अहिले महँगीको उच्च दरबाट राहतको कुनै आशा देखेको छैन। ‘विश्वले पहिले नै कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको दोहोरो चुनौतीको सामना गरिरहेको छ’, पोस्टमा भनिएको छ, ‘यसबीच महँगीको प्रभावले मन्दीको जोखिम बढाएको छ।’

जियोर्जिभाले बैभन्दा ठूलो चिन्ताको विषय भनेको विश्वभरको उच्च मुद्रास्फीति रहेको बताएकी छन्। ‘पूर्वी युरोपमा जारी लडाइँले यसलाई अझ बढाएको छ’, उनले भनेकी छन्।

यसअघि आईएमएफले अप्रिल २०२२ मा जारी गरेको इकोनोमिक आउटलुकमा उच्च स्तरमा पुगिसकेको मुद्रास्फीति लामो समयसम्म कष्टकर हुने बताएको थियो । आईएमएफको अनुमानअनुसार सन् २०२२ मा विकसित अर्थतन्त्रमा मुद्रास्फीति दर ५.७ प्रतिशत हुनसक्छ भने विकासशील मुलुकमा यो दर ८.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

अहिले अमेरिकालगायत विश्वका लगभग सबै देश रेकर्ड मुद्रास्फीतिसँग लडिरहेका छन् । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको कुरा गर्ने हो भने जुन महिनामा मुद्रास्फीति बढेर ९.१ प्रतिशत पुगेको छ। जुन पछिल्लो ४१ वर्षयताकै उच्च हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here