नेपालको यात्रा लिग चरणमै सीमित

215

बंगलादेशसँग १–१ को बराबरी तथा माल्दिभ्समाथि साबिक विजेता भारतले १–० को जित निकालेसँगै नेपालको साफ यु २० च्याम्पियनसिपको यात्रा लिगचरणमा सीमित भएको छ।

भारतको कलिङ्ग रंगशालामा मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले बंगलादेशसँग अंक बाँडेको थियो। चार खेलमा १० अंकसहित बंगलादेश शीर्ष स्थानमा बस्दै फाइनल प्रवेश गर्दा समान खेलमा ९ अंक जोडेको भारत दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गर्‍यो। नेपाल ७ अंकका साथ तेस्रो हुँदा चौथो स्थानको माल्दिभ्स र पाँचौं स्थानको श्रीलंकाको समान १ अंक रह्यो।

पहिलो खेलमा माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेसँगै शीर्ष दुईको दाबेदारी प्रस्तुत गरेको नेपाल तेस्रो खेलमा भारतसँग ८–० को फराकिलो अन्तरमा पराजित भयो। सोही हारका कारण नेपालले शीर्ष दुईको सम्भावना कायम राख्दै फाइनलमा स्थान बनाउन बंगलादेशमाथि ५–० को अन्तरमा जित अथवा दोस्रो खेलमा माल्दिभ्सले भारतलाई हराएको वा अंक बाँडेको कामना गर्नुपर्ने थियो। तर नतिजा नेपालले चाहेअनुसारको भने आएन। बंगलादेशसँग अंक बाँड्दै केही समय दोस्रो स्थानमा उक्लिएको नेपाल माल्दिभ्सले भारतलाई  नतिजा सुम्पिएसँगै बाहिरिएको हो।

बंगलादेशमाथि फराकिलो जितको लक्ष्यसहित मैदान उत्रिएको नेपालले सुरुआतबाटै आक्रामक रणनीति अपनाएको थियो। खेलको पाँचौं मिनेटमा आशिष राईको प्रहार बाहिरिँदा नेपालले अग्रताको अवसर गुमाएको थियो। १४औं मिनेटमा बंगलादेशका मोहम्मद राफिकुल इस्लामले गरेको प्रहार नेपालका गोलकिपर ईश्वर गुरुङले विफल पारेका थिए। त्यसको दुई मिनेटपछि नेपालले पुनः गोलको अवसर पाए पनि कप्तान आयुष घलानले बललाई जाली चुमाउन सकेनन्। आयुषको प्रहार बंगलादेशका गोलकिपर मोहम्मद आसिफले विफल पारेका थिए।

३२औं मिनेटमा बंगलादेशका गोलकिपर आसिफ नेपालका दीपेश गुरुङको फ्रिकिकमा बाधक बने। दोस्रो हाफको सुरुआत भने तनावपूर्ण बन्यो। दुवै टोलीका खेलाडी विवादमा उत्रिएपछि खेल करिब पाँच मिनेट रोकिएको थियो। बंगलादेशका साहिदुल इस्लाम दोहोरो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए। त्यस्तै नेपालका दीपेश गुरुङ र बेन्चमा रहेका रोहित सुब्बाले रातो कार्डको दर्शन गरेका थिए।

६३औं मिनेटमा अहमेद नोभाले गरेको गोलमा बंगलादेशले अग्रता लिएको थियो। तर त्यसको पाँच मिनेटपछि नै निरञ्जन मल्लको गोलमा नेपाल खेलमा फर्र्किएको थियो।

‘खेलाडीहरूले शतप्रतिशत दिएर खेले। हामीमाथि फाइनल प्रवेशका लागि फराकिलो जित निकाल्नुपर्ने दबाब थियो, ’ नेपालका सहायक प्रशिक्षक बालगोपाल साहुखलले भने, ‘भारतसँगको फराकिलो हारको पीडाबाट खेलाडीहरू माथि उठ्न नसकेको जस्तो देखियो। सुरुआती दुई खेलमा राम्रो प्रदर्शन गरे पनि भारतविरुद्धको हारले टोलीको यात्रा कठिन बनाइदियो। जसको प्रत्यक्ष असर आजको खेलमा पनि देखियो। हामीले आगामी दिनमा अझ मिहिनेत गर्नुपर्छ। तर समग्रमा टोलीले गरेको प्रदर्शनबाट भने सन्तुष्ट छौं।’ नागरिक दैनिक

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here