निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले २ प्रश्नको मात्रै जवाफ

72
काठमाडौं । संसद्‌को महाभियोग सिफारिस समितिको बिहीबारको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले २ प्रश्नको मात्रै जवाफ दिएका छन्। बिहीबारको बैठक २ घण्टा चलेको थियो।
समितिले सोध्नलाई तयार गरेका ४३ वटा प्रश्नमध्ये बिहीबार पाँचौँ र छैटौँ प्रश्न सोधिएको थियो। ‘५ र ६ नम्बर प्रश्न अलि लामो र अलि व्याख्यात्मक थियो। त्यसैले प्रधानन्यायाधीशको जवाफ पनि लामो नै रह्यो। त्यसमा प्रतिप्रश्न पनि धेरै नै रह्यो। त्यसैले आज २ घण्टाको समयमा २ वटा प्रश्नको मात्रै उत्तर दिनुभयो,’ समिति सदस्य तथा कांग्रेस सांसद मीन विश्वकर्माले भने।

विश्वकर्माका अनुसार राणालाई न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र न्याय सम्पादनको प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर अर्थात् उनी कुनै पनि ‘लोभलालचमा फसेर गरियो’ भन्ने अभियोगका सन्दर्भमा सोधिएको थियो।

‘त्यसमा उहाँले धेरै भूमिका बाँधेर धेरै प्रक्रियाबाट जानुभयो। घरिघरि उहाँ फेरि समितिलाई नै प्रश्न गर्ने, संसद्लाई नै प्रश्न गर्ने अलि व्याख्यात्मक शैलीमा जानुभयो। त्यसैले समय लाग्यो,’ विश्वकर्माले भने।

राणाको प्रतिप्रश्न र संसद्प्रतिको आरोपलाई आफूहरुले स्वभाविक रुपमा लिएको विश्वकर्माको भनाइ छ। ‘सांसदहरुले अभियोग लगाउनुभएको छ। महाभियोग भनेको सबैभन्दा ठूलो अभियोग। अनि सबैभन्दा ठूलो अभियोग लागेका अभियुक्तले आफ्नो बचाउका लागि गरिने प्रयासमा उहाँले जे पनि व्यक्त गर्न सक्नुहुन्छ। उहाँले व्यक्त गरेका उत्तर, जवाफ, शब्द, वाक्य, अभिव्यक्तिहरुका विषयमा लिएर हामीले आपत्ति मान्नु हुँदैन,’ उनले भने।

एमालेका सांसदहरु विष्णु पौडेल र कृष्णभक्त पोखरेल उपत्यकाबाहिर जानुपरेकाले बिहीबारको बैठक २ घण्टा मात्रै बसेको थियो। बिहीबारको बैठक बिहान सवा ११ बजे सुरु भएको थियो।

बुधबारदेखि राणाको बयान लिन सुरु गरिएको हो। बुधबार उनले ४ प्रश्नको जवाफ दिएका थिए। अब अर्को बैठक आइतबार (भदौ १९ गते) मात्रै बस्ने समितिको सभापतित्व गरिरहेका कांग्रेस सांसद् रामबहादुर विष्टले जानकारी दिए।

राणाविरुद्ध गत फागुन १ गते ९८ सांसदले संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। केही महिना स्थगित गरिएको सो प्रस्तावमाथिको कारबाही गत साउन अन्तिमपछि पुनः सुरु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here