नागार्जुनमा होमस्टे विकास गराउने पर्यटनमन्त्री श्रेष्ठको योजना

63

काठमाडाैं । शहरमा समेत होमस्टे विकास गराउने पर्यटनमन्त्री श्रेष्ठको योजना, नागार्जुनमा तालिम संचालन  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्न ग्रामिण क्षेत्रसँगै शहरी क्षेत्रमा समेत स्थानीय घरवास (होमस्टे) सञ्चालन गर्न सकिने बताउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नागार्जुन नगरपालिकामा आयोजना गरेको होमस्टे सञ्चालन तालिम उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले शहरी क्षेत्रमा रहेका घरहरुमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवा बापत निश्चीत रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिने बताउनुभयो । आफ्ना पाहुनालाई आतिथ्य गर्न घरघरमा रहेका खाली कोठालाई व्यवस्थापन गरी आर्थिक उपार्जन गर्न सकिने उहाँको भनाइ छ । स्थानीय समुदायको आर्थिक विकासका लागि होमस्टेलाई प्रवर्द्धन गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो । स्थानीय जीवनशैली, संस्कृति तथा कलाको प्रवर्द्धन गर्न समेत होमस्टेले सहयोग पुर्याउने उहाँले बताउनुभयो । स्थानीय समाज, रहनसहन, संस्कृति र बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न चाहने पर्यटकको रोजाइमा होमस्टे पर्ने भएकोले शहरी क्षेत्रमा समेत यसको सम्भावना रहेको उहाँले बताउनुभयो ।

पर्यटकीय सम्भावना भएका गाउँ-शहरको पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई उपयोग गर्नुपर्ने उहाँको भनाइ छ । नागार्जुन नगरपालिकाको शरणपुर क्षेत्र पर्यटकीय सम्भावनायुक्त क्षेत्र भएकोले सो क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय पर्यटनको सम्भावना उजागर गर्न होमस्टे तालिम आयोजना गरिएको हो ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता महेश रिमालले नागार्जुन क्षेत्रमा होमस्टे सञ्चालनका लागि तयारी गरिएको जानकारी दिनुहुँदै स्थानीय सरकारले पनि पर्यटन प्रबर्द्धनका लागि होमस्टेलाई प्राथमिकता दिएको बताउनुभयो । शरणपुर नमुना वस्ती विकास समितिका अध्यक्ष तुलसी थापाले स्थानीय पर्यटन प्रवर्द्धनमा होमस्टेले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । तालिममा अतिथि सत्कार, बजारीकरण, व्यवस्थापन र खाना बनाउन सिकाउनुका साथै होमस्टे संचालन सम्वन्धी कानुनी तथा अन्य व्यवस्थाहरुबारे प्रशिक्षकहरुले तालिम दिनेछन् । तालिममा ३५ जना स्थानीय बासिन्दा सहभागि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here