नेप्सेमा पाँचौ कारोबार दिन सुधार

64

काठमाडौं । १ असोजदेखि निक्षेपको ब्याजदर बढाउन बैंकर्स संघको निर्णयसँगै ३० भदौदेखि गिरावट सुरु भएको नेप्सेमा पाँचौ कारोबार दिनमा आएर सुधार भएको छ । नेपाल बैंकर्स संघको ३० भदौ बिहान बसेको बैंठकले निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गर्दै १२.१३ प्रतिशत ब्याजदर पुर्‍याउने निर्णय गरेपछि सोही दिनदेखि नेप्सेमा गिरावट सुरु भएको थियो ।

२९ भदौमा १९८१.४८ अंकमा बन्द भएको नेप्से ३० भदौदेखि ४ असोजसम्म लगातार चार कारोबार दिनमा १४३.८८ अंकको गिरावट भएको थियो । तर, आज पाँचौ कारोबार दिनमा भने नेप्सेमा दोहारो अंकको सुधार भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.२२ अंक (०.६१ प्रतिशत) ले वृद्धि भएर १८४८.८२ अंकमा बन्द भएको छ । बुधबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक भने ०.४४ प्रतिशतले घटेको छ ।

नेप्सेमा सुधार भएपनि बुधबार कारोबार रकम भने घटेको छ । २६ भदौमा ७५ करोडमा सीमित भएको कारोबार रकम त्यसपछि बढेर यो साता आइतबार र मंगलबार १ अर्ब नाघेको थियो । तर, बुधबार भने ७२ करोड १३ लाखमा सीमित भएको छ । नेप्सेले असारदेखि भदौसमम शुक्रबार दुई घण्टाको लागि कारोबार सञ्चालन गर्दा ७२ करोडभन्दा कमको कारोबार भएपनि ४ घण्टा नै बजार सञ्चालन हुँदाको कारोबार रकम भने कोभिड-१९ पछि नेप्सेमा बुलिस ट्रेन्ड सुरु भएयताकै न्यून हो ।

बुधबार नेप्सेमा नबिल बैंकको सर्वाधिक ३ करोड ३८ लाखको कारोबार हुँदा रिडी हाइड्रोपावरको २ करोड ४१ लाखको कारोबार भएको छ । कारोबार अवधिभर १८७ कम्पनीको सेयर कारोबार भएकोमा १४२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३८ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको भने स्थिर छ ।

सामलिङ पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा समिट लघुवित्तको सेयर मूल्य ५.७३ प्रतिशतले बढेको छ । यता विन नेपाल लघुवित्तको सेयर मूल्य ३.६३ प्रतिशत र नबिल ब्यालेन्स फण्ड २ को इकाइ मूल्य ३.४० प्रतिशतले गिरावट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here