युरोप-अमेरिका पुग्दै अकबरे खुर्सानीको अचार

36

पछिल्लो सयम रूचाइएको खुर्सानीको प्रजातीमध्येको एक अकबरेनीको बागलुङ, सिगानाका किसानहरूले व्यावसायिक उत्पादन थालेका छन्।

खानका लागि पिरोसँगै स्वास्थ्यवर्धक मानिएको अकबरेको बागलुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन्। सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले तीन वर्षदेखि अकबरे खुर्सानी खेती गर्दै आएका छन्।

रामबहादुरले पहिलो वर्ष लगाएको अकबरेको माग राम्रो आएपछि यो खेतीतर्फ आकर्षित भएको बताए।

उनले लगातार दुई वर्षदेखि दुई रोपनी जग्गामा व्यावसायिक रूपमा अकबरे उत्पादन गरिरहेका छन्। यसको अचार बनाएर ब्रान्डिङ समेत गर्दै आएका छन्।

‘मेरो मुख्य पेसा त सुन्तला खेती हो। तर सुन्तला खेतीमा सिजनको कामबाहेक अघिपछि फुर्सद हुन्छ। कृषि भ्रमण तथा अवलोकनको समयमा अकबरे खेती गरेको देखेर तीन वर्षअघि पर्वत जिल्लाको पातीचौरबाट एक सय बिरूवा लिएर लगाएको थिएँ,’ रामबहादुरले भने।

उनका अनुसार अहिले अकबरे हरियो दाना किलोको चार सय ५० र अचार बनाएर प्याकेजिङ गरेको आधा केजीको चार सय ५० रूपैयाँमा बेचिरहेका छन्।

उनले भने, ‘यहाँको अचार कोसेली बनेर युरोप, अमेरिका र अस्ट्रेलिया पुगिसकेको छ।’

रामबहादुरले खुला स्थानमा भन्दा प्लाष्टिक टनेलमा राम्रो गुणस्तरको खुर्सानी फल्ने गरेको अनुभव सुनाए। पाकेको अकबरे सुकाएर बनाएको अचार सहकारीको लोगो राखेर प्याकेजिङ गरेर बिक्री वितरण गर्दा दुईदेखि तीन वर्षसम्म स्वस्थ नै हुने उनले बताए। उनको प्लाष्टिक टनेलमा अहिले करिब आठ सय अकबरेका बिरूवा छन्।

उत्पादन भएका खुर्सानी स्थानीय श्रीगणेश कृषि व्यवसायिक सहकारी संस्थाको ब्रान्डमा बिक्री गरिन्छ। संस्थाका सेयर सदस्यलाई अकबरेका बिरूवा वितरण गरिएको सहकारीले जनाएको छ।

रामबहादुरले यो वर्षमा एक लाख रूपैयाँको अकबरे बेच्ने लक्ष्य राखेका छन्।

स्वदेश र विदशेमा माग बढ्दै गएपछि रामबहादुरसहित स्थानीय किसान सुरेन्द्र खड्का र शिव खड्काले पनि अकबरे खुर्सानी उत्पादन गर्न थालेका छन्। तीनै जनाले उत्पादन गरेको खुर्सानी सहकारीको ब्रान्डमा अहिले अचार बनाएर बजार पुगिरहेको छ।

आगामी वर्ष एक हजार आठ सय खुर्सानीका बिरूवा वितरण गर्ने र ब्रान्ड बनाएर बेच्ने योजना सहकारीको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here