कैलालीमा ४ सय २३ जनामा डेङ्गु सङ्क्रमण

48

धनगढी । तीन महिनामा कैलालीमा ४ सय २३ जनामा डेङ्गु सङ्क्रमण भएको छ । वर्षायामको बेला अत्यधिक व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा यो वर्ष सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको छ । यो पालिकामा अहिलेसम्म डेङ्गुका बिरामीको सङ्ख्या १४१ पुगेको छ ।

साउनमा महामारीकै रूपमा डेङ्गु फैलिएको लम्कीचुहा नगरपालिकामा ११३ जना व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको थियो । यस्तै बर्दगोरिया गाउँपालिकामा ७२ र टीकापुर नगरपालिकामा ४० जनालाई डेङ्गु सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजविक्रम शाहीले जानकारी दिनुभयो ।

गोदावरी नगरपालिकामा २८, गौरीगङ्गामा सात, भजनी नगरपालिकामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी जोशीपुर गाउँपालिकामा छ, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा चार/चार, मोहन्याल गाउँपालिकामा तीन जनामा डेङ्गु सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयको असोज ३० गतेसम्मको तथ्याङ्कमा उल्लेख छ ।

कैलारी र चुरे गाउँपालिकामा भने डेङ्गुका बिरामी हालसम्म फेला परेका छैनन् । अहिले चिसो बढ्दै गएकाले डेङ्गुको नयाँ बिरामी फेला पर्ने क्रम घट्दै गएको सूचना अधिकारी शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार दशैँपछि जम्मा १९ जना नयाँ बिरामी थपिएका छन् । दशैंँसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या ४०४ थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here