चुनावमा यस्तो पनि छ सम्भावना !

45
एमसीसीमा ल्याप्चे लगाउनेहरुलाई चुनावकै क्रममा कडा दण्ड दिन मतदाताहरुमा अपिल
काठमाडौं/ आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन खारेज अभियान चलाएको नेपाल कम्युनिस्ट पार्टीलगायत दलका नेताले संसदीय व्यवस्थाको चुनावले जनतालाई कहिल्यै पनि मालिक नबनाउने र थप राष्ट्रघात गर्न वैधता दिने जिकिर गर्दै बहिष्कार गर्न अपिल गरेका छन् । नेपालमा संसदीय व्यवस्था र प्रणाली पूर्ण असफल भइसकेकाले अब त्यसको ठाउँमा नयाँ जनताको वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक भएको नेताहरुले दाबी गरेका हुन् ।
नेत्रविक्रम चन्द विप्लव ‘सी’ नेतृत्वको नेकपाले निर्वाचनको औचित्य समाप्त भएको जनाउँदै भण्डाफोर अभियान सञ्चालन गर्दै आएको छ । देशभर नेकपाले निर्वाचन खारेज र भण्डाफोर अभियान सञ्चालन गरेको हो । कार्यक्रममा ती दलका नेताहरु अमेरिकी सहयोग एमसीसी अनुदान लिने नेतालाई बहिस्कार गर्न पनि जनतासमक्ष आग्रह गरेका छन् । ‘एमसीसीको पैसा खाएर दलालहरु चुनाव लड्न भनेर गाउँ–गाउँमा भोट भाग्न आएको’ भन्दै उनीहरुले ‘भोट होइन, उनीहरुलाई जनताले चोट दिएर लखेट्नुपर्ने’ जनाएका थिए ।
सोमबार बुटवलमा आयोजित कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले भ्रष्टाचारी, व्यभिचारी, दलाल र अपराधीहरुलाई चोख्याउने  संघ र प्रदेश सभाको निर्वाचन खारेज गर्नुको विकल्प नभएको जनाए । निर्वाचनले दलाल पूँजीपतिहरुको सेवा र संरक्षण गर्ने र जनताको समस्या जस्ताको तस्तै हुने भएकाले बहिस्कार गर्नुपर्ने उनको भनाइ थियो ।
‘देशको अस्तित्व र जनताको अधिकारलाई दबाउने संसदीय व्यवस्थाको निर्वाचन हामीहरुले बहिष्कार गरेरै छाड्छौं । यो निर्वाचनले भ्रष्टाचारी, व्यभिचारी, दलाल र अपराधीहरुलाई चोख्याउन निर्वाचन आयोगले एउटा लाइसेन्स दिएर आयोजना गरिएको हुनाले यसलाई सबै नेपाली जनताले खारेज गर्नुपर्छ,’ प्रकाण्डले भने ।
नेपालले हालै मात्र अमेरिकी सहयोग एमसीसी संसदबाट पारित गरेर स्वीकार गरेको थियो । एमसीसी पारित गरेसँगै अमेरिकाले नेपालसँग सैन्य सम्बन्ध र सहकार्य बनाउने गरी एसपीपी सम्झौतामा पनि जोड दिएको थियो । तर, नेपालमा अमेरिकाको बढ्दो हस्तक्षेपलाई नजिकबाट नियालिरहेको चीनले भने यसको विरोध गर्दै आएको थियो । एमसीसीबाट हौसिएको अमेरिकाले नेपालमा थप भूमिका विस्तार गर्न लाग्दै गर्दा नेकपा लगायत केही दलले भने निरन्तर विरोध गदै आएका छन् । उनीहरुले एमसीसी सम्झौतालाई राष्ट्रघातको संज्ञा दिँदै यसको पक्षमा रहेका दल तथा तिनका नेताहरुलाई जनताले बहिष्कार गर्नुपर्ने जनाउँदै आएका छन् ।
नेकपाका अर्का स्थायी समिति सदस्य विषमले एमसीसीमा ल्याप्चे लगाउनेहरुलाई भोट दिने नभई औंला काट्न जनतालाई अपिल गरे । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा नेकपा,ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल सहित तीन पार्टीले आयोजना गरेको राजनीतिक ‘भण्डाफोर सभा’ मा उनले भने, ‘एमसीसी जस्ता राष्ट्रघात गर्ने संसदवादी दलहरुको मंसिर ४ को संसदीय व्यवस्था र निर्वाचन होइन, उनीहरु भोट माग्न आउँदा औंला काट्नुहोस् ।’
नेता विषमले एनसेलको ७२ अर्बको कर छुट गरेर कमिसन खाएर २०७४ सालको चुनाव लडेको र अहिले एमसीसीको पैसा खाएर स्थानीय तह र केन्द्रको चुनाव लड्न लागेको आरोप लगाएका छन् । ‘देश बेच्ने दलालहरुलाई कुनै पनि हालतमा भोट नदिन जनतालाई फेरि पनि सचेत पार्दै यदि भोट दियांै भने उनीहरुले देशलाई सिक्किम वा फिजी बनाउने बताउन चाहन्छु,’ उनले भने ।
प्रवक्ता प्रकाण्डले आसन्न निर्वाचन श्रमजीवी नेपाली जनताको लागि कागलाई बेल पाकेको बराबर भएको संज्ञा दिए । ‘यो निर्वाचन नेपाल र नेपालीहरुको लागि दुःख निम्त्याउने निर्वाचन हो, श्रमजीवी वर्गको दुर्दशा ल्याउने निर्वाचन हो । त्यसैले पार्टीका हरेक तहका नेता कार्यकर्ताहरु गाउँगाउँ पुगेर, सहरका गल्लीगल्लीमा पुगेर जनतालाई सचेत गराउनु पर्दछ,’ उनले भने ।
उनले निर्वाचन बहिष्कार अभियानलाई सुरक्षाकर्मीहरुले पनि सहयोग गर्न आग्रह गरे । ‘सुरक्षाकर्मी साथीहरु, तपाईंहरुलाई साच्चिकै देशको माया छ भने र जनताप्रति उत्तरदायी हुनुहुन्छ भने आसन्न मंसिरको निर्वाचन खारेज अभियानलाई सहयोग गर्नुहोस् । त्यसको नेतृत्व राजनीतिक हिसाबले हामी गर्छाैं । तपाईं हामी मिलेर यो देशलाई बर्वाद बनाउने दलालहरुलाई लखेटौं र समेटौं,’ उनले भने ।
 उनले आफ्ना नेता तथा कार्यकर्तालाई धरपकड गरेको खराब कार्यशैलीप्रति संकेत गर्दै आगामी दिनमा त्यसो गरे सबैका लागि महंगो हुने चेतावनीसमेत दिए । ‘हामीहरु कुनै जालझेल र खेल खेलिरहेका छैनौं, हामीहरु क्रान्ति गरिरहेका छौं, जनताको मुक्तिको लडाइँ लडिरहेका छौं । हामीलाई आफ्नोभन्दा देशको माया छ, आफ्नो जीवनभन्दा जनताको जीवन प्यारो छ । त्यसैले हाम्रो यो शान्तिपूर्ण चुनावी खारेज अभियानलाई जसले बल प्रयोग गर्छ, त्यसको कडा प्रतिवाद गर्छाैं,’ प्रकाण्डले भने ।
वैज्ञानिक समाजवादीमा पनि चुनाव हुने भन्दै प्रवक्ता प्रकाण्डले उक्त चुनाव श्रमजीवी वर्गको हितमा, देशको स्वाधीनतालाई केन्द्रविन्दुमा राख्ने खालको हुने बताए । उनले यसका अतिरिक्त वैज्ञानिक समाजवादी व्यवस्थामा देशको अर्थतन्त्र आत्मनिर्भर हुने खालको चुनाव हुने र जुन अर्थतन्त्रको सम्पूर्ण स्वामित्व नेपाली श्रमजीवी वर्गहरुको हुनेमा विश्वस्त पार्दै आमजनताको अधिकारलाई स्थापित गराइदिने, उनीहरुको सुरक्षाको प्रत्याभूतिसहित राज्यसत्ताको मालिक बनाइनुका साथै समान व्यवहार गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारको समेत ग्यारेण्टी वैज्ञानिक समाजवादी व्यवस्थाले गराउने प्रस्ट्याए । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here