भेरी अस्पतालमा हेमोडाइलाइसिस कक्षको उद्घाटन

31

काठमाडौं । बाँकेको नेपालगञ्ज पुगेर स्वास्थ्यमन्त्री पदम गिरीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। साथै उनले भेरी अस्पतालमा हेमोडाइलाइसिस कक्षको उद्घाटन गरेका छन्।

भेरी अस्पतालमा ६ वटा डाइलाइसिस शय्या थप गरेर १० वटा बनाइएको स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए। ‘डाइलाइसिस सेवा ६ वटा थप गरेर १० वटा बनाइएको हो’, उनले भने।

मन्त्री गिरीको सचिवालयका अनुसार अस्पतालमा डाइलाइसिस सेवा लिइरहेका ५२ वर्षे रवीन्द्र श्रेष्ठलाई पुष्पगुच्छा दिएर डायलाइसिस कक्षको उद्घाटन गरिएको हो।

नेपालगञ्जमा स्वास्थ्यमन्त्री गिरी, सचिव डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, जिल्ला स्वास्थ्य प्रमुख, भेरी अस्पतालका प्रमुख, जनप्रतिनिधिलगायतको टोलीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गरेको अनुगमनस्थलमा खटिएका मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. पौडेलले जानकारी दिए।

साथै मन्त्रीको टोली बाँकेको खजुरास्थित खोप केन्द्रमा पुग्ने र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अवलोकन गरेर फर्कने कार्यक्रम रहेको उनले जानकारी दिए।

प्रभावित क्षेत्रको अवलोकन र डाइलाइसिस शय्याको उद्घाटनपछि मन्त्री गिरीले चाँडै दादुरा नियन्त्रण हुने विश्वास व्यक्त गरेका छन्। त्यसैगरी भेरी अस्पताल मोफसलको राम्रो सेवा दिने अस्पताल भएको तर्क पनि उनले गरेका छन्।

भौतिक पूर्वाधारको कमीको बावजुद अस्पतालले राम्रो सेवा दिएको भन्दै मन्त्री गिरीले अस्पतालको प्रशंसा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here