१० प्रतिशत जनसंख्यामा मिर्गौलासम्बन्धी समस्या

38

काठमाडौं । नेपालको कुल जनसंख्याको १० प्रतिशत जनसंख्यामा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या भएको तथ्यांक छ ।

मिर्गौलामा समस्या देखिएकामध्ये पनि तीन हजार बिरामी प्रत्यारोपण नै गर्नुपर्ने अवस्थाका छन् । मिर्गौला फेल भएर प्रत्यारोपण नै गर्नुपर्नेमा युवा उमेरका बिरामी सबैभन्दा धेरै छन् । केही दिनअघि राष्ट्रिय प्रत्यारोपण केन्द्रले सार्वजनिक गरेको एक हजार मिर्गौला प्रत्यरोपीको विवरणमा सबैभन्दा धेरै २० देखि ४० वर्षसम्मका युवा छन् । केन्द्रकाअनुसार पछिल्लो ६ वर्षमा मिर्गौला प्रत्यारोपण गर्ने एक हजार मध्ये सबैभन्दा धेरै २० देखि ४० वर्षभित्रका ५८५ जना छन् ।

यो उमेर समूहभित्र पनि २० देखि ३० वर्षसम्मका २५४ जना र ३० देखि ४० वर्षसम्मका ३३१ जना छन् । समग्र प्रत्यारोपण गरिएकामध्ये प्रतिशतका हिसाबले यो ५८.५ प्रतिशत हो, प्रत्यारोपण गर्नुपर्नेमा सबैभन्दा धेरै पुरुष छन् ।

केन्द्रमा सबैभन्दा कम १२ वर्षका बालक र सबैभन्दा बढी ७३ वर्षका वृद्धमा मिर्गौला प्रत्यारोपण गरिएको तथ्यांक छ । केन्द्रमा दैनिक १३० देखि १५० जनासम्मको डायलायसिस भइरहेको र झन्डै ७०० बिरामी प्रत्यारोपणका लागि पर्खाइमा रहेको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए ।

केन्द्रमा आइपुग्ने बिरामीलाई ४ देखि ६ महिनाभन्दा बढी कुर्नु नपर्ने उनको भनाइ छ । प्रत्यारोपण गरेका बिरामी ९८ प्रतिशत र डायलायसिस गरेकाहरु ९० प्रतिशतसम्म बचाउन सफल भएको उनको दाबी छ ।

मिर्गौलाले ९० प्रतिशत काम गर्न छोडेपछि मात्रै लक्षण देखिने भएकाले बर्षको एकपटक मिर्गौला परीक्षण गराउन तथा जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न डा. श्रेष्ठको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here