नेपाल-अमेरिकाबीचको सम्बन्ध र सहकार्य थप अगाडि बढ्ने

51

काठमाडौं । नेपालको २ दिने भ्रमणमा रहेकी उप–विदेशमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्य थप अगाडि बढ्ने जनाएकी छन्।

सोमबार ललितपुरमा पत्रकारसँगको अन्तर्क्रियामा उपमन्त्री नुल्याण्डले दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप अगाडि बढाउनुपर्ने जनाएकी हुन्। नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामार्फत् सहयोग गरिरहेको नुल्याण्डले उल्लेख गरिन्।

अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा तथा साइबर अपराधलाई रोक्न नयाँ प्रविधिमा सहयोगको आदान–प्रदानलाई आगामी दिनमा झनै सशक्त बनाउँदै जाने नुल्याण्डले प्रतिबद्धता व्यक्त गरिन्।

नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हीतका विषयलाई निरन्तरता दिइने उनले उल्लेख गरिन्। उनले नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्‍याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने जनाइन्।

नुल्याण्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी पनि जनाइन्।  सोही अवसरमा उपविदेशमन्त्री न्युल्याण्डले पाटन दरबार स्क्वायरको समेत अवलोकन गरेकी थिइन्। उनले सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन्।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here