व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौं महानगर

60

काठमाडौं । काठमाडौं महानगरपालिकाले नागरिकहरूको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ । रोग, उपचार र औषधि सेवा सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिने महानगरले जनाएको छ ।

सहरमा नसर्ने तर दीर्घ रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यस्ता बिरामीले नियमित औषधि सेवन गर्नुपर्छ । निश्चित मात्रा पूरा गर्नुपर्छ । यसको निगरानी वडास्तरीय स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट गर्ने योजना महानगरको हो ।

स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको स्तरोन्नति गर्ने विषयमा सोमबार बसेको बैठकमा महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुन्छ भन्ने अनुभूति हुने व्यवस्था गर्न लागिएको बताउनुभयो ।

‘‘कसलाई के समस्या छ ? उपचार कहिलेबाट थालनी भएको हो, कुन औषधि प्रयोग गरिरहनु भएको छ ? औषधिको समयावधि कति हो ? प्रयोगशाला जाँच कहिले भएको थियो ? अब कहिले गर्नुपर्छ ? क्लिनिकमा कहिले जानुपर्छ ? औषधि लिन कहिले जानु पर्छ ? घरमा भएको औषधिले कहिलेसम्म पुग्छ ?,’’ यस सम्बन्धी नोटिफिकेसन दिएर बिरामीको  उपचार र स्वास्थ्य जीवनयापनमा सहज बनाइने स्वास्थ्य सल्लाहकार डा. अग्रवालले जानकारी दिनुभयो ।

डा. अग्रवाल भन्नुभयो, ‘‘दीर्घ रोग भएका व्यक्तिको उपचारसँग सम्बन्धित विवरण डिजिटल प्रणालीमा राखेर काम थालनी गर्छौँ । यसलाई विस्तार र वृहत् बनाउँदै सबै व्यक्तिको स्वास्थ्य अवस्था बुझ्न सकिने, समग्र स्वास्थ्य सम्बन्धी अवस्थाका विषयमा जानकारी लिन सकिने प्रणाली बनाउँछौँ ।’’ अहिले महानगरबाट परिवर्तन सम्भव छ । यसमा नागरिकले आशा गर्नुभएको छ । यो आशालाई मर्न दिनु हुँदैन भन्ने उहाँको भनाइ छ ।

बैठकमा स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले प्रविधिसँग जोडेर आधारभूत तथ्याङ्क सङ्कलनको योजना बताउनुभयो । विभागको योजनालाई सूचना प्रविधि विभागले टेवा पुर्‍याउने । बैठकमा सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले सहकार्यमा सहमत जनाउनुभयो । स्वास्थ्यको कुनै एउटा क्षेत्रलाई मोडल बनाएर सेवा विस्तार गर्दै जाँदा दिगो उपयोगमा योगदान हुने उपनिर्देशक रामप्रसाद पौडेलको भनाइ छ ।

आधारभूत स्वास्थ्य अवस्थाको सर्भेक्षणबाट थप कार्यक्रममा टेवा पुग्ने महाशाखा प्रमुख सजिना महर्जनले धारणा राख्नुभयो । सबै सेवाका आधारभूत तथ्याङ्क एउटै हुन् । सर्वेक्षणमा यसलाई ध्यान दिएर उपयोगी विवरण ल्याउने गरी प्रश्नावली तयार पार्नुपर्ने बैठकमा तथ्याङ्क अधिकृतद्वय कृष्णराज तिवारी र पवनकुमार ठाकुर धारणा छ ।

सेवा स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईले महानगरको नागरिक विद्युतीय सुशासन सेवामा स्वास्थ्य सर्वेक्षणलाई जोड्न सकिने बताउनुभयो । सूचना तथा तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण तथा भण्डारणका लागि यसभित्र पर्याप्त ठाउँ बनाइएको निर्देशक भट्टराईको भनाइ छ । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here