राष्ट्रिय टोलीका सदस्य विशाल राई अष्ट्रेलिया पलायन

84

इलाम  । नेपाली राष्ट्रिय टोलीका सदस्यहरू विदेशिने सूचीमा मिडफिल्डर विशाल राई पनि थपिएका छन्। सुरक्षित भविष्यको खोजीमा राई अष्ट्रेलियातर्फ गएका हुन्।

शहीद स्मारक लिग नजिकिँदै गए पनि झापाको अर्जुनधारा नगरपालिकाका विशाल मछिन्द्र क्लब छाडेर शुक्रबार अष्ट्रेलियातर्फ लागे। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ पूर्वसहकर्मी रजिन धिमाल, पुजन उपकोटी, विशाल श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ लगायतले बिदाइ गरे।

२०७६ र २०७८ को लिग विजेता मछिन्द्र क्लबका महत्वपूर्ण सदस्य विशालले २०७५ को लिग मनाङ मर्स्याङदीबाट जितेका थिए। उनले व्यावसायिक करियर मछिन्द्रबाट सन् २००८ मा सुरु गरेका थिए। सरस्वती र मनाङमा समेत केही वर्ष बिताए। एन्फा एकाडेमीका उत्पादन विशालले नेपालको विभिन्न उमेर समूहबाट खेल्दै सन् २०१४ बाट सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।

राष्ट्रिय टोलीबाट २८ क्याप जित्दै ३ गोलसमेत गरेका थिए। उनले सन् २०१५ मा भारत विरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। सन् २०१६ को बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्ध डेब्यु गोल गरेका थिए। त्यसपछि लाओस विरुद्धको मैत्रीपूर्ण खेल र सन् २०१९ को एएफसी एसियनकप छनोटमा फिलिपिन्सविरुद्ध गोल गरेका थिए। पछिल्लो समय अखिल नेपाल फुटबल संघ ९एन्फा० र ’ए’ डिभिजन क्लबबीचको विवादका कारण शीर्ष डिभिजनको लिग समयमा नहुँदा थुप्रै खेलाडी विदेशिएका छन्। विगत २ वर्षमा राष्ट्रिय टोलीमा रहेका १५ जना भन्दा बढी खेलाडीहरू पलायन भइसकेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here