दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले २८ औं जनयुद्ध दिवस मनाएको छ । माओवादी दोलखा जिल्ला पार्टीले सदरमुकाम चरिकोटमा जनयुद्ध दिवस मनाएको छ ९ स्थानीय तह आ–आफ्नो इलाकामा विभिन्न कार्यक्रम गरेर दिवस मनाएका हुन् ।
माओवादी दोलखा जिल्ला इन्चार्ज विशाल खड्काले सरकारले जनयुद्ध दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिएर सहिद, वेपत्ता घाइते अपाङ सहित सिंगो जनयुद्धलाई सम्मान गरेको बताए । ‘सरकारले फागुन १ गते सार्वजनिक विदा दिएर ऐतिहासक काम गरेको छ । जनयुद्धलाई राज्यले स्वीकार गरेको छ’ खड्काले भने, ‘जनयुद्धले ल्याएका परिवर्तनलाई संस्थागत गरेर आर्थिक समृद्धिमा केन्द्रीत हुनुपर्छ ।’
अब समाजवादी क्रान्ति पुरा गर्न फेरि जनताले एउटा ठूलो संकल्प लिनुपर्ने अवस्था आएको खड्काले टिप्पणी गरे । दोलखाको चरिकोटमा आयोजित जनयुद्ध दिवस कार्यक्रममा जिल्लामा रहेका कांग्रेस, एमाले लगायत सबै पार्टी, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित विभिन्न संघ–संस्था समेत सहभागी भएका थिए । सो कार्यक्रममा सहिद परिवारलाई सम्मान, कविता वाचन र सहभागीहरुले जनयुद्धका अनुभूति समेत सुनाएका थिए ।


















