काठमाडाैं । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सोमबार सम्पन्न भएको छ । सैनिक मुख्यालय जंगीअड्डामा भएको बैठकमा पृतनापतिहरुले वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, अपरेशनल अवस्था लगायत विषयको रिपोर्ट प्रधान सेनापति प्रभुराम शर्मासमक्ष पेश गरेका थिए ।
समापन समारोहमा प्रधान सेनापति शर्माले बैठकले वर्तमान परिस्थितिका साथै भविष्यमा आईपर्न सक्ने चुनौतीहरुको पहिचान गरी सोको सामना गर्न अपनाउनु पर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताए ।
उनले आगामी कार्यहरु थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यो बैठक सहयोगी सिद्ध हुने बताउँदै पृतनास्तरमा हालसम्म भएका प्रभावकारी कार्यहरुको लागि पृतनापतिहरुलाई धन्यवाद दिए ।
आठवटै पृतनाका पृतनापतिहरु लगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरु तथा सम्बन्धित बाहिनीपतिहरुको उपस्थिती रहेको उक्त समन्वयात्मक बैठकबाट निकालिएको निष्कर्षका आधारमा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देशन गर्ने नेपाली सेनाले विश्वास लिएको छ । बैठक आइतबारदेखि सुरु भएको थियो ।


















