प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारसँग मागे जवाफ

115

काठमाडौं । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारको जवाफ मागेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले मंगलबार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही युवाको मुख थुनेको तस्वीरबारे चासो राखेकी हुन् ।

‘हिजोदेखि सञ्चारजगत र सामाजिक सञ्जालमा, केही युवाहरुले बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ती मुख थुनेको, घाँटी न्याकिरहेको, लछारपछार पारिरहेको तस्वीरहरु जताततै देख्न पाइएको छ, यो किन भएको हो, ती युवाले के बोल्न खोजिरहेका थिए र प्रहरीले ज्यादती गरेको हो ?’ पौड्यालले प्रश्न गरिन् ।

संविधानले नागरिकलाई स्वतन्त्रतापूर्वक विचार राख्न पाउने र बोल्न पाउने अधिकार दिएको भन्दै उनले प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गरेकी छन् । उनले अगाडि सोधिन्, ‘गृह मन्त्रालयले यसो गर्ने प्रहरीलाई कारबाही गरेको छ कि छैन ?’

राष्ट्रियसभा सदस्य पौड्यालले यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुका साथै सरकारको जवाफ पनि मागेकी छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा केही युवालाई पक्राउ गरेको थियो । त्यस क्रममा नाराबाजी गर्ने युवाको मुख प्रहरीले थुनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here