
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विगत तीन महिनामा नेपाल वायु सेवा निगमले चार अर्ब रुपैयाँ नाफा कमायो भनेर झुटाे बोलेको दाबी गर्नुभएकाे छ ।
बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद आलेले यस्ताे दाबी गर्नुभएकाे हाे । उहाँले निगम (नेपाल एअरलाइन्स) को यथार्थ आर्थिक अवस्थाको बारेमा संसद्लाई जानकारी गराउन माग गर्नुभयो । उहाँले थन्किएका जहाजलाई व्यवस्थापन गर्न मन्त्रीलाई चुनौती दिनुभयो । उहाँले पर्यटनमन्त्री किरातीलाई ‘स्टन्ट’ मन्त्रीको संज्ञा दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यस वर्ष महालेखा प्रतिवेदन र अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपाल वायु सेवा निगमको घाटा एक अर्ब ७० करोड रुपैयाँ देखिएको छ । वायु सेवाको कुल ऋण ५० अर्ब रुपैयाँ नाघिसकेको छ । तर तीन महिनामा निगमले चार अर्ब नाफा कमायो भनी पर्यटनमन्त्रीले सञ्चारमाध्यममा झुटो बोलेको सुनियो । के हो यो ? आजको दिनमा नागरिकलाई भ्रम छर्न पाइँदैन । यो सदनमार्फत निगमको यथार्थ आर्थिक अवस्था कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको लाखौँ बचतकर्तालाई स्पष्ट जानकारी गराइयोस् । सकिन्छ भने पर्यटनमन्त्रीले थन्केका जहाजको व्यवस्थापन गरून् ।’
बैठकमा मन्त्री आलेले पशुपति क्षेत्रको जग्गा बिचौलियाले अपचलन गरेको बताउनुभयाे । उहाँले पशुपतिकाे मूर्ति तथा बहुमूल्य सम्पदा चोरिँदा पनि पर्यटनमन्त्री र पदाधिकारी मस्त निद्रामा रहेको आरोप लगाउनुभयो । उहाँले गोठाटारको ३१ रोपनी जग्गा बिचौलियाले लिएर अपचलन गरेका बताउनुभयो ।