काठमाडौं । सडक विस्तार तथा निर्माणका लागि पृथ्वी राजमार्गअन्तर्गत नौविसे-मलेखु सडक खण्डको बुधबारदेखि राति ४ घण्टा अवरुद्ध हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले विज्ञप्ति जारी गर्दै उक्त सडक खण्ड असोज २० गतेसम्म बन्द हुने बताएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङमा सोमबार बसेको सरोकारवालाको बैठकले उक्त सडक खण्डको खयरघारीस्थित १७ किलोमिटर र पोखरे खोलानजिक ३३ किलोमिटर सडकमा स्वीकृत डिजाइन अनुसार सडक चौडा गर्ने र सो समयमा राति ४ घण्टा सडक अवरुद्ध गर्ने निर्णय गरेको हो।
निर्माणको समयमा अवागमन गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गरी राति ११ बजेदेखि बिहान ३ बजर्सम्म एम्बुलेन्स र सुरक्षा निकायका सवारीबाहेक अन्य सवारीको अवागमन बन्द गरिएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जनाए।
यस अवधिमा काठमाडौंबाट जाने सवारी थाक्रेस्थित एक्लेफाँट र चितवनतर्फबाट आउने सवारी गजुरीस्थित घाटवेशी पुलमै रोकिनेछन्।