तीज पर्व: कसैलाई रमाइलो, कसैलाई कष्टप्रद

49

प्रीति रमण
नेपाली महिलाहरुको ठूलो पर्व तीज यसै साता सकिएको छ । विशेषगरी हिन्दू समुदायका महिलाले मनाउने यो पर्व हिमाल, पहाड, तराई सबैतिर फैलिसकेको छ । हिन्दू समुदाय भने पनि यो पर्वमा अन्य समुदायका महिला पनि सहभागी हुने क्रम बढ्दै गएको छ । यसलाई हाम्रो धार्मिक सहिष्णुताको अर्को उदाहरण मान्न सकिन्छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यो चाडमा भगवान् शिवको आराधना गरिन्छ । तृतीयाको दिन महिलाहरू रातो पहिरनमा सजिएर वर्ष दिनसम्म आफूले भोगेका भोगाइहरू गीत मार्फत अभिव्यक्त गर्छन् ।

समाजको आधुनिकीकरण सँगै तीजमा गाइने गीतका प्रकृति फेरिएका छन् । समाज पूर्ण रूपमा कृषिमा निर्भर रहँदा हिजो विवाहित चेलीहरू माइती जान नपाएको, वर्षदिनसम्म खेतीपातीको काममा व्यस्त हुँदा माइती भेट्न, मिठो खान नपाएको जस्ता गुनासाहरू तीज गीतमा हुन्थे । तर, अहिले समाज वाणिज्य व्यापार र अन्य पेसागत जीवनमा पनि प्रवेश गरेको छ । समाजको व्यावसायिक रूप बदलिँदा तीजका गीतहरू पनि फेरिएका छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । तर, तीजको महत्वमा कुनै कमी देखिँदैन । हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको गुनासो पनि हुन थालेको छ । अर्कोतर्फ, हामीले तीजलाई यति भड्किलो बनाउँदै आएका छौं कि विपन्न महिलालाई यसमा जोडिनै समस्या हुन थालेको छ । यसको एउटा उदाहरणको रुपमा हालै एक सञ्चारमाध्यमा छापिएको समाचारलाई लिन सकिन्छ ।

गाउँघरमा तीजको रौनक सुरु भए पनि अछामकी मंगलसेन नगरपालिका–५ की ५० वर्षकी सेतु विक भने यसबाट पर नै थिइन् । कारण हो, आर्थिक विपन्नता । दाउरा र दूध बेचेर गुजारा चलाउँदै आएकी उनी गाउँको बचत समूहमा पनि आबद्ध छिन् । तर उनी समूहले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागी भएकी छैनन् । समूहमा एक जनाबाट कम्तीमा एक हजार उठाउने र दर खाने कार्यक्रम राख्ने भन्ने सल्लाह भएको उनले जनाइन् । तर, त्यति पैसा तिरेर रमाइलो गर्नलाई १५ दिन दाउरा बेच्नुपर्ने उनको भनाइ छ । उनीजस्तै अवस्था मंगलसेन–५ की ३८ वर्षीया बिन्द्रा भाटको पनि छ । मजदुरी गरेर गुजारा चलाउने उनले तीजको चहलपहल र तडकभडकमा आफू मिसिन नसकेको समाचारमा जनाएकी छन् । खर्च गर्न सक्ने, गरगहना लगाउन सक्नेका लागि तीज ठिकै भए पनि आफू जस्तो विपन्नका लागि यस्तो खर्चिलो चाडपर्व कहिल्यै न आए पनि हुन्थ्यो भन्ने लाग्ने उनको भनाइ छ । यी केही उदाहरण हुन्, जसले तीज विपन्न महिलाका लागि कष्टप्रद बन्दै गएको स्पष्ट पार्छ । बढ्दो महँगीको मारमा पनि महिला परेका छन् । पछिल्लो समय नेपालमा हरेक उपभोग्य सामग्रीको मूल्यवृद्धि अकाशिएको छ । चाडपर्वमा त झन् मूल्यवृद्धिले उपभोक्ताको ढाड सेक्ने गरेको छ । तर, सरकारले बजार नियमन भने झारा टराइमा गर्ने गरेको छ । तीजमा पनि त्यही अवस्था छ ।

त्यसकारण पनि सामान्य आयआर्जन भएका महिलाले पनि तीजमा खर्च गर्न सोच्नुपर्ने अवस्था आएको छ । तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन । आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजित गर्छन् र लठ्ठिने गरी मदिरामा डुब्छन् । तीजका नाममा भित्रिएको यो सबैभन्दा दुर्गन्धित पक्ष हो । इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरुको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ । त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ । यद्यपि, सबैपक्ष नकारात्मक मात्र छ भन्नु उपयुक्त हुँदैन । पछिल्ला वर्षहरुमा तीजमा केही सकारात्मक पक्षहरु प्नि देखिएका छन् ।

आजभोलि तीजपर्ब हिन्दु नारीहरूमा मात्र सीमित रहेको छैन, जुनसुकै धर्म मान्ने समुदायले पनि रमाइलो मान्दै तीज पर्व मनाउन थालेको पाइन्छ । पुरु षहरू पनि तीजका कार्यक्रममा सहभागिता जनाउन थालेका छन् । आजभोलि तीज दुःख बिसाउने चौतारी मात्र नभएर खुसी साट्ने चौतारी पनि बन्न पुगेको छ । जन्मघर कर्म घर हुँदै व्यावसायिक जीवनको विकास तथा देश विदेशका कुना कुनासम्म महिला दिदीबहिनी पुगिरहेको अवस्थामा तीजको शैलीमा परिवर्तन हुनु नौलो कुरा होइन । माइतीघर जान नसकेका सबै महिला दिदी बहिनीहरूलाई समेटिने गरी उचित स्थानमा जमघट भई दुःख सुखका भावहरू व्यक्त गर्ने माध्यम बन्न थालेको छ अहिले तीज पर्व । साथीभाइ रमाइलो गर्दै परिवर्तित समयका पीडा र वेदना, महिला अधिकार माया, प्रेमका रमाइला पक्षहरू पनि अचेल तीज गीतमा समेटिएका छन् । जसले महिलालाई अझ चेतनशील, ऊर्जाशील र सशक्त बनाउन सहयोग पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here