–प्रीति रमण
माथिको शीर्षक हाल नेपालमा रहेको प्रचलित धारणाभन्दा फरक छ । सबैले विद्यालयमा राजनीतिको शब्द नै सुन्न नचाहिरहेको अवस्थामा मैले भने किन विद्यालय राजनीतिबारे बुझ्ने थलो बन्नुपर्छ भन्ने आशयले यो लेख लेखेको हुँ । हालै काठमाडौंमा हामीले शिक्षकहरुले विभिन्न माग राखेर आन्दोलन गरेको देखेका छौं । विद्यालय नै ठप्प पारी शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । राज्यले शिक्षासम्बन्धी नयाँ विधेयक संसदमा ल्याएपछि त्यसका विरुद्धमा शिक्षकहरुले आन्दोलन गरेका हुन् ।
नयाँ विधेयकले स्थानीय तहलाई शिक्षा र शिक्षकसम्बन्धी तजबिजी अधिकार दिएको र त्यसो हुनुहुँदैन भन्ने उनीहरुको प्रमुख माग थियो । त्यहीकारण उनीहरु देशैभरबाट जम्मा भएर आन्दोलनमा उत्रिएका थिए । तर, कतिपयले भने उनीहरुलाई शिक्षाको नाममा राजनीतिक गरेको आरोप लगाएका छन् । कतिपयले भने विद्यालयमा राजनीति बन्द गर्नुपर्ने धारणा राखेका छन् । विद्यालय होस् वा कलेज तथा विश्वविद्यालय, यहाँ शिक्षाबाहेक राजनीति गर्ने, राजनीतिक दलका कार्यक्रममा बढी सरिक हुने र विद्यार्थीको चौपट पार्ने राजनीतिको पक्ष मैले लिन खोजेको होइन । तर, यसको अर्थ यो होइन कि विद्यालयमा राजनीतिको बारेमा चर्चा नै गर्नुहुन्न पनि भन्न खोजेको होइन । राजनीति भनेको सबै नीतिमध्येको प्रमुख नीति हो ।
राजनीति समाजका सबै क्षेत्रमा जोडिएको हुन्छ । त्यसैले चाहेर पनि कोही यसबाट अछूतो रहन सक्दैन । त्यसैले विद्यार्थीले पनि देशको राजनीतिबारे विद्यालय तहबाट जानकारी राख्नु आवश्यक हुन्छ । विद्यालयमा राजनीतिको सिकाइ झन् अनिवार्य छ । नत्र राजनीति सिक्ने ठाउँ कहाँ हो ? राजनीति अभ्यास गर्ने ठाउँ कहाँ हो ? नैतिक आचरण सिक्ने ठाउँ कहाँ हो ? भ्रष्टाचार गर्नु हुँदैन भनेर सिक्ने ठाउँ कहाँ हो ? यी सबै सिक्ने ठाउँ विद्यालय नै हैन र ? विद्यालयमा विद्यार्थीको संगठन बनाउनु , देशको राजनीति, सरकार तथा संसद् सञ्चालनको प्रक्रिया, विकास, निर्माणको तौरतरिकाबारे गतिविधि सञ्चालन हुनुपर्छ । यसबाट उनीहरु देशको राजनीतिप्रति आकर्षित हुनुका साथै देशमा भएको अविकास र राजनीतिक भद्रगोलबारे पनि जानकार हुनेछन् । साथै, यस्तो क्रियाकलापले राम्रो र योग्य नेतृत्व विकासमा पनि टेवा पुग्नेछ । नेपालमा यिनै उद्देश्यलाई लिएर विभिन्न दलका भातृसंगठनका रु पमा भातृ संगठन पनि सञ्चालनमा छन् । तर, उनीहरु आफ्नो शैक्षिक संस्था तथा विद्यार्थीको समस्याभन्दा पनि विद्यार्थी राजनीतिलाई केन्द्रीय राजनीतिमा जाने भ¥याब बनाउने गलत अभ्यासमा छन् । यसलाई राजनीतिक दलहरुले पनि संरक्षण र प्रयोग गरिरहेका छन् । राजनीतिक दलहरुलाई आफ्नो स्वार्थका लागि विरोध प्रदर्शन गर्नुपर्ने अवस्थामा भातृ संगठनलाई प्रयोग गर्ने गरेका छन् ।
विद्यार्थी संगठनका नेता तथा कार्यकर्ता पनि सही गलत नछुट्याई राजनीतिक दलको विरोध कार्यक्रममा सहभागी हुने गरेका छन् । यसले समग्र विद्यार्थी संगठनप्रति नकारात्मक बुझाइ बढेको छ । विदेशका कलेज तथा विश्वविद्यालयमा पनि विद्यार्थीको संगठन छन् । केही विश्वविद्यालयमा नेपाली विद्यार्थी पनि त्यस्ता संगठनको अध्यक्ष बनेका छन् । के नेपालमा जस्तै त्यहाँको विश्वविद्यालयको विद्यार्थी संगठनको अध्यक्ष हुनु त्यहाँको राजनीतिमा प्रवेश पाउने खुड्किला हो त ? अहँ त्यहाँ त्यसो हुँदैन । विद्यार्थी संगठनको अध्यक्ष पहिला आफ्नो शैक्षिक संस्थाको शैक्षिक वातावरणका लागि जिम्मेवार हुन्छ । विद्यार्थीको समस्याका लागि जिम्मेवार हुन्छ । शैक्षिक संस्थामा देखिने समस्या, विद्यार्थीका गुनासा, अध्ययनअध्यापन, पाठ्यक्रमलगायत विषयमा उनीहरुले काम गर्नुपर्ने हुन्छ । तर, नेपालमा भने विद्यार्थी संगठन अध्यापक कुट्ने, पेट्रोलको मूल्यवृद्धि हुँदा आन्दोलनमा कुद्ने र आफ्नो माउ राजनीतिक दलले बोलाएको ठाउँमा पुगेर विरोधमा प्रदर्शनमा सहभागी हुने गतिविधि गर्दै आएका छन् ।
विश्वविद्यालय र यस अन्तर्गतका कलेजहरुमा पठन पाठनको स्तर तोक्न, सक्षम गुरुहरुको नियुक्ती गर्न, पूर्णकालीन गुरुहरुलाई पूर्ण समय काममा लाग्न, अन्यत्र जिल्लाबाट आएका साथीहरुको लागि छात्रावासको व्यवस्था गर्न, पढाईका अतिरिक्त मनोरञ्जन र खेलकुदका कार्यक्रम नियमित गर्न, कुनै पनि बहानामा हुने बन्द र हडतालको प्रभाव शिक्षामा पर्न नदिन जस्ता सकारात्मक कामहरुमा विद्यार्थी संगठनहरुले कसरत गर्ने हो भने उनीहरुको औचित्यमाथि प्रश्न उठाउनु कुनै पनि हालतमा युक्तिसंगत हुंदैन । समाजको वैकल्पिक चेत निर्माणका लागि हामीले कसरी काम गर्ने हो, हामीले भोलिको नेतृत्व कसरी उत्पादन गर्ने भन्नेबारे उनीहरूले माउ पार्टीसँगै जवाफ माग्नुपर्छ । सीप कसरी सिकाउने, विद्यार्थीलाई व्यावहारिक ज्ञानतर्फ कसरी जोड्ने भनेर छलफल गर्ने थुप्रै विषयहरू छन् । विश्वविद्यालयबाट स्वतन्त्र विद्यार्थी युनियनमार्फत् आफ्नो राजनैतिक यात्रा सुरु गरेका अहिलेको राजनैतिक नेतृत्वमा हुनेहरूले खुला समाज निर्माण गर्न ठुलो भूमिका खेलेका छन् । अब विद्यार्थी युनियनमार्फत नयाँ राजनैतिक यात्रा सुरु गर्नेले विश्वविद्यालयमा विद्यार्थीहरूबीच आफ्नो हकहितको अलवा समग्र शिक्षा क्षेत्रको गुणस्तर वृद्धिको लागि ठोस योजनासहित प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गर्नुपर्छ ।
किनकी हामी अब खुला समाजमा छौं । यसले गर्दा कुशल राजनैतिक नेतृत्व विकास भई भोलिको दिनमा देशलाई पनि सही तरिकाबाट कुशल नेतृत्व दिन सकियोस् । विद्यार्थी नेताहरूले विशुद्ध विद्यार्थी हकहितको र समग्र शिक्षा क्षेत्रको गुणस्तर वृद्धिको लागि आफ्नो योगदान समाहित गर्नुपर्दछ । यो भए विद्यार्थीहरूले पेशाप्रतिको निष्ठा, इमान्दारिता र जवाफदेहिता आफ्नो अध्ययनकालमै सिक्ने र बुझ्ने मौका पाउँछन् । हाम्रा यिनै उत्पादनले नै हो, भोलि राज्यका स्थानहरू लिने । त्यसैले व्यवसयीकरणको सही अर्थमा विकास होस् । -जनधारणा साप्ताहिक