पोखरा । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताएका छन् ।
नेकपा एमाले प्रथम गण्डकी अधिवेशनमा उनले लोकप्रियतावादमा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवाहरुमा भ्रम छरिरहेको आरोप लगाए ।
नीतिबिनाको पार्टीले देशको विकास गर्न नसक्ने र त्यो केवल चटक मात्रै हुने गुरुङको धारणा छ । ‘दुनियाँमा यस्ता रमिते र चटकेहरु धेरै देखेका छौं । त्यस्ता चटकेहरु हामीले भारतमै देखेका छौं, अमेरिकामा देखेका छौं, रुसमा देखेका छौं, अस्ट्रेलियामा देखेका छौं’, उनले भने, ‘तर, लोकप्रियतावादले भिजनबिनाको, नीतिबिनाको, योजनाबिनाको पार्टीले मुलुकलाई अगाडि हाँक्न सक्दैन ।’
उपमहासचिव गुरुङले गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै भए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै होलान् । तर, यसलाई मन परेन भनेर राजतन्त्रको विकल्प हुन सक्दैन’, गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले भने ।