आजदेखि नवराजसहित ६ जनाको हत्याको मुद्दामा निरन्तर सुनुवाइ हुने

42

काठमाडौं । रुकुममा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनाको सुनुवाइ आइतबारदेखि हुने भएको छ।

रुकुम पश्चिम जिल्ला अदालतमा अन्तर्रजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि रुकुमको सोती गाउँमा नवराजसहित ६ जनाको हत्या घटनाको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो। सुनुवाइ जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा हुन लागेको हो।

सुनुवाइको लागि आज पहिलो दिन सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। उक्त घटनामा मारिएका नवराज विकसहित ६ जना पीडितको परिवारका तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी रुकुम पश्चिम पुगेका छन्।

२०७७ साल जेठ १ जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ८ सोती गाउँकी मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न पुगेका थिए। दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले नवराजसहित उनका साथीलाई लेखेटेर मारेका थिए।

साे  घटनामा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए। मृतकहरुको शव भेरी नदीमा भेटिएको थियो।घटनाका सन्दर्भमा छानबिन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय छानबिन समिति समेत गठन गरिएको थियो। संसदीय समितिले उक्त घटना नियोजित रुपमा भएको निष्कर्ष निकालेको थियो।

घटनाका सन्दर्भमा प्रहरीको अनुसन्धानपछि सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाउँदै रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रतिवादीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।

मुद्दाका अभियुक्तमध्ये जिल्ला अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जसमध्ये ११ जनालाई तारेखमा छाडिएकाे थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here