नेपाल पत्रकार महासंघको इतिहास सच्याउन आग्रह

30

काठमाडौं । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको इतिहास सच्याउन आग्रह गरेको छ । २००८ साल वैशाख ९ गते स्थापना भएको महासंघलाई २०१२ साल चैत १६ देखि इतिहास कायम गर्नु गलत भएको फोनिजको भनाइ छ ।

तत्कालीन अवस्थामा पत्रकारले सत्यनारायणबहादुर श्रेष्ठको सभापतित्वमा २००८ सालमा नेपाल पत्रकार संघ गठन गरेको संघ नै आजको महासंघको निरन्तरता भएकाले संस्थापकमाथि न्याय गर्न फोनिजले महासंघसँग आग्रह गरेको हो ।

महासंघ प्रतिष्ठान प्रदेश समितिले ‘अग्र अनुहार’ नामक पुस्तक प्रकाशन गरी माघ २८ गते लोकार्पण गर्न लागेको र त्यसमा २०१२ सालका अध्यक्ष कृष्णप्रसाद भट्टराईदेखि अहिलेसम्मका अध्यक्षहरुको विवरण प्रकाशन गरेकोप्रति फोनिजले दुःख व्यक्त गरेको छ ।

संस्थापक सभापति श्रेष्ठको बारेमा सो पुस्तकमा केही उल्लेख नगरी महासंघले इतिहास नामेट पार्ने गलत काम गरिरहेको भन्दै फोनिजले त्यसको विरोध गर्दै सच्याउन माग गरेको छ ।

फोनिजका संघीय महासचिव मिलन लिम्बुले आज संस्थाको तर्फबाट विज्ञप्ति प्रकाशन गरी भन्नुभएको छ, ”संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ रहेको तथ्य स्पष्ट छ । नेपाली पत्रकारिताको इतिहासमा २००८ वैशाख ९ गते पहिलो पटक नेपाल पत्रकार सङ्घ गठन गरेर सभापतिका रूपमा नेपालका पत्रकारलाई सङ्गठित गर्दै नेतृत्व प्रदान गर्ने व्यक्ति श्रेष्ठ नै हुन् । यो तथ्यलाई नामेट पार्नु भनेको उहाँको योगदानको अवमूल्यन गर्नु हो ।“

गलत तथ्यलाई नै निरन्तरता दिने महासङ्घको कदमप्रति फोनिजको गम्भीर ध्यानाकर्षण भएको महासचिव लिम्बूले उल्लेख गर्नुभएको छ । विज्ञप्तिीमा भनिएको छ, ”हामी आग्रह गर्दछौं, प्रतिष्ठान प्रदेशको सो प्रकाशन तत्काल रोकियोस् । साथै, संस्थापक अध्यक्षको विषय यथाशीघ्र टुङ्गो लगाई गलत इतिहास सच्याइयोस् ।“

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here