काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) सांसद उदयबहादुर बोहराले पश्चिम नेपालको भूकम्पपीडितको राहत व्यवस्थापन कार्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद बोहराले भूकम्पपीडित चिसोले कठ्यांग्रिएर निमोनियालगायत रोगले समेत ग्रस्त भएकाले उनीहरूलाई आवश्यक राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। आइतबार राष्ट्रिय सभा बैठकमा उनले त्यहाँको राहत वितरण कार्य समानुपातिक रुपमा गर्न पनि सरकारलाई सचेत गराए।
पीडितले राहत वितरणमा भेदभाव भएको गुनासो गरिरहेकाले सरकारले आवश्यकताका आधारमा सबै ठाउँको आवश्यक राहतको व्यवस्था गर्नुपर्ने सांसद बोहराको भनाइ थियो।
सांसद बोहराले भूकम्पबाट जो प्रताडित वृद्धवृद्धा, गर्भवती महिला, स–साना बालबालिकाका लागि राहतको उचित व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।