काठमाडौं । अध्यागमन विभागले आज फागुन १ गतेदेखि सेवा अवधिको समय बढाएको छ । विभागले आजदेखि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन सेवा दिने जनाएको छ । यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको थियो भने सार्वजनिक विदाको दिन विदा हुने गर्दथ्यो ।
विभागका निर्देशक रेवती रमण शर्माले जारी गरेको सूचनामा लेखिएअनुसार थप गरिएको समयमा नेपाल आगमन पूर्व ई–भिसाको लागि आवेदन र स्वीकृति, पर्यटक भिसा थप, गैह्रपर्यटक भिसाबाट पर्यटक भिसामा रुपान्तरण, गैह्रपर्यटक भिसा जारी र ट्रेकिङ परमिट जारी गर्ने काम हुने छ । ई–भिसाको लागि आवेदन तथा प्राप्ति प्रक्रियाका लागि विभागको वेबसाइटमा अपलोड गरिएको तरिका हेर्न विभागले भनेको छ ।
‘महालेखा नियन्त्रक कार्यालयको राजश्व लेखा प्रणालीमा जोडिएका वालेट खल्ती र ई–सेवामात्र छन् । त्यसैले अहिले ती दुई वालेटबाट मात्र भुक्तानी गर्न मिल्छ । यदि राजश्व लेखा प्रणालीमा अरु वालेट जोडिए भने तिनीहरुबाट पनि भुक्तानी गर्न मिल्छ,’ महानिर्देशक तामाङले भने । थप गरिएको समयमा काम गर्नका लागि अहिले कायम जनशक्तिबाटै व्यवस्था मिलाइएको छ । थप समयमा काम गरेवाफत कर्मचारीहरुले अर्थमन्त्रालयको नियमअनुसारको अतिरिक्त भुक्तानी पाउने छन् ।
नजिक घर भएकालाई बेलुकासम्म बस्ने गरी काममा खटाइएको महानिर्देशक तामाङले जनाए । ‘कहिलेकाहिँ आपत विपत पर्यो, सवारी साधन भएन र कर्मचारी कार्यालयमै आउन सकेन भने पनि घरबाटै काम गर्न सकिन्छ, उसले काम गरिरहेको छ कि छैन भन्ने पनि अनलाइनबाटै थाहा पाइन्छ,’ महानिर्देशक तामाङले भने, ‘अहिले हामी अनलाइन सिस्टममा काम गरिरहेका छौं । भविष्यमा फेसलेस बनाउने लक्ष्य लिएर काम गरिरहेका छौं ।’