काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महाङ्घको आयोजनामा राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि प्रदर्शनी सम्पन्न भएको छ । २५ माघदेखि सुरु भएको क्यान इन्फोटेक नामक उक्त प्रदर्शनी सोमबार सकिएको हो ।
२९ औं संस्करणको रूपमा आयोजित पाँच दिने मेलामा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिनटेक जस्ता क्षेत्रमा क्रियाशील कम्पनीको सहभागिता रहेको थियो । त्यस्तै ई-कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरू समेत प्रदर्शनीमा देख्न सकिन्थ्यो ।
प्रदर्शनीमा नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । आयोजकले यस्ता सोच तथा आविष्कारलाई प्रोत्साहन दिन निःशुल्क स्टलको व्यवस्था गरेको थियो ।
करिब १५० स्टल राखिएको प्रदर्शनीमा सहभागी कम्पनी तथा सङ्घसंस्थाले आफ्ना वस्तु तथा सेवा उपभोक्ता माझ प्रवर्द्धन गर्ने मौका पाएका थिए । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’को नाममा विशेष छुट तथा आकर्षक योजना पनि सार्वजनिक गरेका थिए ।
राजधानीमा राष्ट्रियस्तरको प्रदर्शनी सम्पन्न गरेको आयोजकले सन् २०२४ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने घोषणा समेत गरेको छ । यसका लागि तयारी समेत सुरु भइसकेको जनाइएको छ ।