काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद मिलाउन निर्देशन दिएका छन् । मंगलबार बिहान नेविसंघको शेखर कोइराला—गगन थापा समूह बूढानीलकण्ड पुगेपछि देउवाले नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई विवाद मिलाउन निर्देशन दिएका हुन् ।
नेविसंघमा देखिएको गुटगत विवादका कारण अध्यक्ष शेर्पाले मंगलबार प्रज्ञा भवन कमलादीमा बोलाएको पहिलो केन्द्रीय समिति बैठक अनिश्चित छ । देउवा निवास पुगेको टोलीमा सहभागी केन्द्रीय सदस्य भुवन भट्टले सभापति देउवाले अध्यक्ष शेर्पालाई फोन गरेर विवाद समाधान गर्न निर्देशन दिएको रातोपाटीलाई बताए।
यता शेखर–गगन समूहले अध्यक्ष शेर्पाले कांग्रेस कार्यसम्पादन समितिले गरेको निर्णय उल्लङ्घन गरेपछि विवाद सुरु भएको आरोप लगाएको छ । काठमाडौँ, धादिङ, सुनसरी, दोलखा, मकवानपुर, बारा, नवलपरासी (बर्दाघाट सुस्तापश्चिम) लगायतका जिल्लामा पार्टीका जिल्ला सभापतिको सिफारिस विपरीत नेविसंको जिल्ला अध्यक्ष तोकिएको भट्टले बताए ।
महाधिवेशन पूर्व गर्नुपर्ने आधारभूत कामहरू समेत नगरेर आगामी असार १५ मा महाधिवेशनको मिति तोकिएको उनको भनाइ छ । अध्यक्ष शेर्पाले पार्टीको महासमिति बैठकमा नेविसंघको १२ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका थिए ।