नाउपमा विवाद कायमै

4

काठमाडौं । सरकारको बिषयलाई लिएर रेशम चौधरी संरक्षक रहेको दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा विवाद र हात हालाहाल भएको छ। नाउपाले सोमबार काठमाडौंमा बोलाएको बैठकमा रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीपक्षबीच हात हालाहालको अवस्था आएको हो। रेशम पक्षले सुदुरपश्चिम प्रदेशको हालको सरकारलाई समर्थन गर्ने र रञ्जिता पक्षले नगर्ने भनेर अडान लिएपछि विवाद भएको हो।

साथै केन्द्र सरकारमा त्यसको विपरीत रञ्जिता पक्ष सहभागी हुन खोज्ने र रेशम पक्षले प्रतिपक्षमा बस्ने भनेका कारण पार्टीको विवाद सतहमा आएको हो। संरक्षक रेशम चौधरीले अरुको उक्साहटमा अध्यक्ष रञ्जिता श्रेष्ठले गतिविधि गरिरहेको आरोप लगाएपछि सोमबारको बैठकमा विवाद सुरु भएको थियो। चौधरीको उक्त भनाइलाई उनको बुवा लालवीर चौधरीले पनि समर्थन दिएका थिए।

कैलाली टिकापुरको जनता र पार्टीले लिएको नीति विपरीत अध्यक्ष श्रेष्ठले अरुको लहैलहैमा लागेर पार्टीभित्र गलत गतिविधि गरेको आरोप लगाएपछि श्रेष्ठ आक्रोशित भएकी थिइन्। अध्यक्ष श्रेष्ठ आक्रोशित भएपछि त्यहाँ भनाभनको अवस्था निम्तिनुका साथै हात हालाहाल समेतको स्थिति आएको बैठकमा सहभागी एक नेताले देशसञ्चारलाई जानकारी दिए।

सुदूरपश्चिम सरकारमा नाउपाका मन्त्री फिर्ता बोलाउन अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीबाट पत्र पठाएकी छन्। रेशमका बुबा एवं प्रतिनिधिसभा सांसद लालवीर चौधरीले अहिले पार्टीको आन्तरिक बिषयमा धेरै टिप्पणी नगर्ने देशसञ्चारलाई प्रतिक्रिया दिए। रेशम चौधरी पक्षले रञ्जिता समूहका नेतालाई ज्यान मार्नेसम्मको धम्की दिएको रञ्जिता निकट नेताहरुको भनाइ छ।

सोमबारको बैठकमा सुदूरपश्चिम सरकारबाट बाहिरिने लगायतका विषयमा छलफल भएको थियो। केन्द्रीय सदस्यहरुले बैठकमा धारणा राखिरहेका बेला रेशम चौधरीले सुदूरपश्चिममा अहिलेको सरकार ढलेमा ज्यान मार्ने धम्की दिएका स्रोतको भनाइ छ। सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्। उनले नाउपाको समर्थन लिन ५ जनालाई सरकारमा सहभागी गराएका छन्।

केन्द्रमा पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारमा हाल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र कांग्रेस मात्र सहभागी छन्। मुख्यमन्त्री शाहले नाउपासहित एक स्वतन्त्र सांसद र एक राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सांसदको समर्थन लिई विश्वासको मत लिन खोजे पनि नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादले समस्या भएको हो।

यसैक्रममा केन्द्रमा नयाँ गठबन्धनमा रहेको एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा कमल शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत गरेको छ। एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले नयाँ गठबन्धनमा आफ्नो दलको सम्मानजनक हैसियत नस्वीकार्न अवस्था देखिएकाले नयाँ निर्णयमा पुग्ने बताए।

मुख्यमन्त्री कमल शाहले पनि एकीकृत समाजवादीसँग पनि सकारात्मक छलफल भइरहेको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘हामी विश्वासको मत पाउँछौं। २–३ दिनभित्र विश्वासको मत लिन्छौं।’

नेपाली कांग्रेस, नाउपा र एकीकृत समाजवादी एक ठाउँमा भए कमल शाह नेतृत्वको सरकारले सहजै विश्वासको मत पाउने अंकगणीत छ। कांग्रेसका १८, नाउपाका ७ र एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य रहेका छन्। शाहले चैत २२ भित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ। शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नाउपाका सातमध्ये पाँच जनालाई मन्त्री बनाएका हुन् तर नाउपाको आन्तरिक किचलोका कारण मुख्यमन्त्री शाहले विश्वासको मत लिने मिति तय गर्न सकेका छैनन्।

कांग्रेसका १८ र नाउपाका ७ गरेर शाहको पक्षमा २५ जना छन्। राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थन लिएर शाह आफ्नो पक्षमा बहुमत सांसद २७ जना पुर्‍याउने पक्षमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here