‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने

5

काठमाडौं । दयाहाङ राई स्टारर ‘डिग्री माइला’ सिनेमा नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात अप्रिल १२ देखि नै रिलिज हुने भएको छ।
निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै सिनेमा सोही मितिमा रिलिज हुने जानकारी दिएको हो।

सिनेमालाई यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्दैछ। निर्माणपक्षले दिएको जानकारी अनुसार सिनेमा अष्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ।

अष्ट्रेलियामा buyonlineticket.com.au बाट सिनेमाको टिकट काट्न सक्नेछन्।
यसैगरी यो अमेरिकाका ४० बढि शहरमा रिलिज हुँदैछ। त्यहाँ ‘डिग्री माइला’को करिब ४ सय शोहरु हुने जानकारी निर्माणपक्षले दिएको छ।

रामबाबु गुरुङ निर्देशित सिनेमाले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको छ। ट्रेलरमा फिचर भएका दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ।

सिनेमामा आँचल शर्मा दयाको जोडी बनेकी छन्। सिनेमामा उनीहरुको अन्तरजातिय प्रेम हेर्नसकिनेछ। उनीहरुका अलावा सिनेमामा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमुख भूमिका रहेको छ।

सिनेमालाई यस वर्ष बल्कबस्टर व्यापार गर्नसक्ने सिनेमाको सूचिमा राखिएको छ। बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ।

यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ। बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन्।

यस्तै क्रिश लामा कार्यकारी निर्माता हुन्। सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ। यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here