धर्म सम्बन्धि कम्युनिष्टहरुले बुझ्नु पर्ने सही धारणा

17
-लोकनारायण सुवेदी
अरु दर्शनहरुले जस्तो संसारलाई बुझने र ब्याख्या गर्ने कुरामा मात्र मार्क्सवादले आफुलाई सीमित राख्दैन । यस दर्शनले त संसारलाई आमूल परिवर्तन गरेर अग्रगामी सामाजिक रुपान्तरण गर्ने महत्वपूर्ण कुरामा सर्वाधिक जोड दिन्छ । ठीक यसै कारणले वास्तवमा अरु आफ्ना पूर्बबर्ती दर्शनहरुभन्दा मार्क्सवाद एकदमै भिन्न र बिशिष्ट छ । वास्तवमा यो एउटा रचनात्मक सामाजिक बिज्ञान हो । बिश्वको बौद्धिक बिकासको समुच्चा सम्पदाको सही अर्थमा सदुपयोग गरेर मार्क्सवादले यस्तो बैज्ञानिक सामाजिक सिद्धान्त र पद्धति मानब समाजलाई प्रदान गरेको छ जसले सामाजिक शोषण, भेदभाव, अन्याय,, असमानता, अन्धबिश्वास र कुरीतिहरुलाई आमूलरुपमा बदलेर नयाँ मानव समाज निर्माणको मार्गदर्शन गर्दछ । यस प्रकार मानव समाजलाई मुक्ति, समानता र समुन्नतिका निमित्त यसले प्रष्ट दिशा निर्देश गर्दछ । अरु दर्शनहरु भन्दा यी नै कुरामा मार्क्सवाद फरक र बिशिष्ट रहेको तथा ज्ञान र ब्यवहारको सही बिबेचना गर्ने बिचार हो ।
माक्र्सवाद अर्थात मानव समाजप्रति जिम्मेवार माक्र्स र एंगेल्सका अत्यन्तै गहन र जिम्मेवारीपूर्ण रचनाहरु फ्रान्सेली समाजवाद, जर्मन दर्शन र भौतिकवाद तथा अग्रेजी अर्थशास्त्रको सही किसिमको संश्लेषण र बिकास गरेर बिकसित भएको हो । रचनात्मक बिज्ञानकोरुपमा मार्क्सवादले वास्तवमा समस्त रचनात्मक चिन्तनलाई यसरी समन्वित गर्दछ । अनि यसरी शोषणमा आधारित बिश्व सामाजिक ब्यवस्थाको मात्र होइन, बरु त्यसलाई बदल्ने क्रान्तिकारी लक्षलाई साकार तुल्याउने कारबाहीलाई समेत स्पष्टरुपमा पथ प्रदर्शन गर्दछ । आफ्नो स्वभाविक प्रकृतिबाटै यसरी माक्र्सवाद भौतिक, रचनात्मक र द्वन्दात्मक स्वभावको सामाजिक सिद्धान्त हो भन्ने कुरा एकदमै प्रष्ट हुन्छ । अतः यो जडसुत्रवाद बिरोधी छ । यो एउटा बस्तुगत यथार्थमा आधारित बिश्व दृष्टिकोण हो जसले सामाजिक मुक्तिको परिकल्पनालाई अंगिकार र मुक्तिकामी आदर्शलाई अभिब्यक्त गर्दछ ।
ऐतिहासिक स्थितिमा परिवर्तन ल्याउने बिभिन्न प्रबृत्तिहरुलाई केलाउने र बुझने यो एउटा प्रभावकारी र ठोस आधारमा खडा भएको सशक्त हतियार हो । यसले जनताका संघर्षहरुका कार्यक्रमगत लक्षहरुको ब्याख्या गर्दछ । अनि बद्लिदा ऐतिहासिक अवस्थाहरुको आवश्यकता अनुरुप यसले आवश्यक कुरालाई स्वीकार गर्ने र आत्मसात गर्ने क्षमता राख्दछ । यही नै यो सामाजिक बिज्ञानको निरन्तरताको नियम हो । मानव जातिको प्रगतिको आधारमा एउटा रचनात्मक समाजिक बिज्ञानका नाताले यसरी माक्र्सवादले स्वयंलाई समृद्ध पार्दछ । यस सन्दर्भमा माक्र्स र एंगेल्सले जे भनेका छन् ती कुराहरुलाई उल्लेख र रेखाङ्कति गर्नु आवश्यक र सान्दर्भिक हुन्छ कि आजसम्मको सम्पूर्ण ज्ञानको इतिहासको सिलसिलामा धर्म बिचारधाराकै एउटा सबैभन्दा प्रभूत्वशाली तत्व बनेर आएको छ । यसकारणले शोषक तथा शोषित बर्ग बीचको संघर्षको अभिब्यक्ति पनि धार्मिकरुपमा समेत हुँदै आएको पाइन्छ । त्यसैले समाजमा आज पनि परिरहेको धर्मको प्रभावलाई बुझ्रनु मार्क्सवादका लागि त्यत्तिकै प्रासांगिक हुन्छ, जति अन्य बिचारधात्मक रुपहरुलाई बुझ्नु प्रासांगिक हुन्छ । यसका अतिरिक्त धर्मको सँधै नै एउटा मानतावादी अन्तरबस्तु रहने गरेको छ ।
यो कुरा स्वयं मार्क्सले पनि स्वीकारेका छन् कि मानिसको हित हुने कुनै पनि कुरा उनका निमित्त पराई कुरा होइन र हुँदैन । यी नै महत्वपूर्ण कुराहरुलाई राम्ररी ध्यानमा राखेर समाजमा धर्मको भूमिका र यसबारे माक्र्सबादी अवधारणा बुझन र ब्याख्या गर्न सरल र सजिलो हुन्छ । धर्म सम्वन्धि मार्क्सवादी धारणालाई लिएर निकै ठूलो बहस लामो समयदेखि निरन्तर चल्दै आएको छ । यस क्रममा मूलतः धर्म सम्वन्धी मार्क्सवादी अवधारणालाई जन साधारणको सामान्य धारणा सन्दर्भबाट अलग्ग गरेर र काटेर प्रस्तुत गर्ने गरिदै आएको छ । त्यसको एउटा ठोस उदाहरण हो ‘धर्म जनताको अफिम हो’ भन्ने उद्धरण । साच्चो र यथार्थ कुरा त के हो भने यस उदाहरणलाई माक्र्सवादका बिरुद्ध दुरुपयोग गर्नेहरुले जानीबुझिकनै त्यसको पूरा सन्दर्भ नदिई आंशिकरुपमा त्यसलाई प्रस्तुत गर्ने गर्दै आएका छन् ।
वास्तवमा बिश्वका महान दार्शनिक एवं सिद्धान्तकार कार्ल मार्क्सले स्पष्टरुपमा के भनेका छन् भने ‘‘धार्मिक पीडा एकै पटक वास्तविक पीडाको पनि अभिब्यक्ति तथा वास्तविक पीडाको बिरुद्ध बिरोध प्रदर्शन पनि हो । धर्म उत्पीडित प्राणीको चित्कार(आह) हो । एउटा हृदयहीन संसारको हृदय हो, त्यसरी नै जसरी कुनै आत्मबिहीन स्थितिको त्यो आत्मा हो । त्यो जनताको अफिम हो ।’’( धर्म मार्क्स एंगेल्स ः हेगेलको अधिकार सम्बन्धि दर्शनको आलोचनामा योगदान, पृष्ठ ५१) धर्म यदि अफिमै हो भने पनि त्यो यस कारणले कि त्यसमा एउटा काल्पनिक संसारमा मानिसलाई लैजाने अद्भूत क्षमता हुन्छ, जस्तो ब्यक्तिलाई लठ्ठ पार्ने क्षमता अफिममा हुन्छ । कुनै पनि उत्पीडनका निमित्त धर्मले एउटा काल्पनिक संसारमा मानिसलाई लैजाने त्यस्तै क्षमता हुन्छ जस्तो क्षमता अफिमा हुन्छ । कुनै पनि उत्पीडितका लागि धर्मले एउटा काल्पनकि राहतको रुपमा पलायनको बाटो प्रस्तुत गर्दछ । त्यसको लागि एउटा हृदयहीन संसारमा हृदय,एउटा आत्माबिहीन स्थितिमा आत्मा जुटाइ दिन्छ । ठीक यही कारणले धर्म त्यो अफिम हो जसको जनतालाई स्वयं आफुलाई भुल्याउनका निमित्त आवश्यकता पर्दछ र त्यसबेलासम्म आवश्यकता पर्दछ जबसम्म जनता यस्तो स्थितिमा फसेका हुन्छन् । जुन कुरा उनीहरुलाई आफ्नो ज्ञान र नियन्त्रणभन्दा बाहिरको हो भन्ने लाग्दछ ।
वास्तवमा एंगेल्सले त कतिसम्म लेखेका छन् भने सम्पूर्ण धर्म मानिसको दैनन्दिन जीन्दगीलाई नियन्त्रित गर्ने शक्तिहरुको मानिसहरुको मानसपटलमा बनेको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन । (ड्यूहरिंग मत खण्डन) वास्तवमा सारतः धर्मको माक्र्सवादी अवधारणा त्यसको समग्र दार्शनिक आधारसँग जोडिएको छ । मानिसको साँच्चो स्वतन्त्रता तथा मुक्ति के हो,यस सोझो र महत्वपूर्ण प्रश्नको उत्तरको खोजी गर्दै कार्ल माक्र्सले के बिचार गरे भने क्रान्तिको हेगेलबादी बिचारलाई छोडिदिनु पर्दछ । उनको समयमा त्यस बिचारको प्रतिनिधित्व फायरबाखले गर्दथे । मार्क्सले हेगेलको त्यो बिचारलाई परित्याग गरे र उनी बहुतै महत्वपूर्ण निष्कर्शमा पुगे । त्यो निष्कर्श यस्तो थियो ः ‘मानिसको चेतना समाजिक स्थितिवाट निर्धारित हुन्छ, न कि त्यसको उल्टो – मानिसको चेनताले सामाजिक स्थिति बनाउँदछ’ भन्ने कुरा । मानिसको चेतनाले उसको अस्तित्वको निर्धारण गर्दैन । त्यसको बिपरीत मानिसको सामाजिक अस्तित्व नै उसको चेतनाको निर्धारक हो’ । (राजनीतिक अर्थशास्त्रको आलोचनाबाट) यस प्रकार आधारभूत महत्वको निष्कर्श निकाल्दै मार्क्स भन्दछन् ः अधार्मिक आलोचनाको आधार हो ः ‘मानिसले धर्मको निर्माण गर्दछ । धर्मले मानिसलाई बनाउने होइन, अर्को शब्दमा, चिन्तन तथा त्यसबाट निस्कने बौद्धिक ब्यवहारको दृष्टिबाट मानवीय चेतनाका अरु प्रत्येक अभिब्यक्तिहरु झै नै धर्म पनि मानवीय समाजिक अस्तित्वकै परिणाम हो न कि त्यसको –सामाजिक अस्तित्वको) कारण । यस अवधारणाले धर्मलाई कुनै स्वयम्भू बस्तुको रुपमा स्वीकार्दैन ।
धर्मलाई कुनै यस्तो बस्तु मान्दैन जुन इतिहासमा समाजको गति चालक शक्तिबाट स्वतन्त्र रहेको होस् । बस्तुतः ठीक यसै कारणले मक्र्सवादले कोपर्निकस तथा एकलब्यको उत्पीडनको दोष धर्ममाथि थोपर्दैन । त्यसले त ती सबै धार्मिक भाषामा अभिब्यक्त सामाजिक शक्तिहरु तथा आन्दोलनहरुको स्वभाविक अभिब्यक्तिकोरुपमा लिन्छ । किनकि सम्पूर्ण ज्ञात इतिहासमा धर्म बिचारधाराको एउटा प्रभूत्वशाली तत्वको रुपमा रहेको छ । अनि जवसम्म यो बिचारधाराको रुपमा बनिरहन्छ प्रगतिशील तथा प्रतिकृयावादी बिचार शासक बर्गको निहीत स्वार्थ तथा शोषित बर्गका मागहरु सबै कुरा समानरुपले मानिसहरुको मानसपटलमा प्रतिबिम्बित भइरहनेछन् ।
माक्र्सवादले जहाँ सुफी, भक्ति आदि धार्मिक सुधार आन्दोलनहरुको सकारात्मक तथा प्रगतिशील अन्तरबस्तुलाई चिन्दछ त्यही तिनीहरुको सीमालाई पनि रेखांकित गर्दछ कि कसरी कुन प्रकारका आन्दोलनले धर्मका सीमाभित्र सीमित भएर परिवर्तन ल्याउन सक्तैन, जबसम्म त्यो सामजिक परिस्थितिमा परिवर्तन ल्याउन सकिदैन, जुन कुनै खाश बिचार धार्मिकरुपमा प्रभूत्वको स्थितिमा अभिब्यक्त भइरहेको हुन्छ, त्यसबेलासम्म त्यस खाश धार्मिक रुप तथा त्यससँग जोडिएका उत्पीडनलाई समाप्त पार्न सकिने छैन । यसरी धार्मिक सुधार आन्दोलनको सकारात्मक अन्तरबस्तुलाई पहिचान गर्नुका साथसाथै माक्र्सवाद धर्मको इतिहासलाई पनि मानव सभ्यता तथा त्यसै अनुरुप मानव चिन्तनको बिकासको सीमा राख्न सफल र समर्थ भएको छ । प्रष्ट छ, यसरी धर्म कुनै अलौकिक बस्तु रहेको छैन । यस सम्वन्धमा एंगेल्सले प्रष्ट के भनेका छन् भने धर्म त्यस्तो प्रतिबिम्ब हो जसमा लौकिक शक्तिहरुले परलौकिक रुप लिन्छन् । अर्थात् परलौकिक शक्ति बन्दछन् ।
इतिहासको प्रारम्भमा यस्तो प्रतिबिम्ब प्रकृतिका शक्तिशरुको नै हुने गर्दथ्यो । हाम्रो आफ्नै सन्दर्भमा सूर्य,अग्नि, बायु, नाग आदिको मूर्ति पूजाको आदिम रुप देख्न र बुझ्न यसै प्रसंगमा सकिन्छ । बैदिक कर्मकाण्डहरु सारतः यज्ञमा आधारित छन् जुन अग्नि जगाउने एउटा रुप नै हो । तर धेरै समय बित्न नपाउँदै प्रकृतिका ती शक्तिहरुका साथै सामाजिक शक्तिहरु पनि सक्रिय हुन थाल्दछन् । ती सामाजिक शक्तिहरु पनि मानिसका सामु प्राकृतिक शक्ति जस्तै बाहिर तथा प्रारम्भमा अगम्य लाग्ने शक्तिकै रुपमा आउँदछन् । सतही रुपमा ती शक्तिहरुमाथि पनि त्यसरी नै त्यस्तै प्रकारको प्राकृतिक आवश्यकताको रुपमा हावी रहन्छन् जसरी प्रकृतिका शक्तिहरु त्यसमाथि हावी र प्रभावी रहने गर्दै आएका थिए । ती काल्पनिक प्राणीहरुमा जो आरम्भमा केवल प्रकृतिकै रहस्यपूर्ण शक्तिलाई प्रतिबिम्बित गर्दथे,यस बिन्दूमा पुगेपछि सामाजिक गुण पैदा हुन्छ । ती इतिहासको शक्तिको प्रतिनिधि बन्दछन् ।
समाज बिकासको अझ अगाडिको अवस्थामा पुगेर अनेकौं प्रकारका देवताहरु सम्पूर्ण प्राकृतिक तथा सामाजिक गुणयुक्त एउटा सर्बशक्तिशाली इश्वरमा स्थानान्तरित हुन जान्छन् । यो इश्वर निराकार मानवकै प्रतिविम्ब हो । एकेश्वरबादको जन्म यसै प्रकारले भएको थियो । ऐतिहासिकरुपमा यो उत्तरकालीन यूनानीहरुहरुको भ्रष्ट दर्शनको अन्तिम उपज थियो । फेरि त्यसले यहुदीहरुको बिशिष्ट जातिय देवता ‘जेहोवा’ को रुपमा अबतार लियो । यो सुविधाजनक, शुद्ध र सार्बभौमिकरुपले संयोजनीय रुपमा ती बाह्य प्राकृतिक तथा सामाजिक शक्तिहरुकासाथ जसले तिनमाथी शासन गर्दछ, मानिसको तत्कालीन अर्थात भावनात्मक सम्वन्धको रुपमा धर्म त्यतिवेलासम्म कायम रहन सक्तछ जबसम्म मानिस ती शक्तिहरुको नियन्त्रणमा बाँधिइरहेको हुन्छ । तर के कुरा बारम्बार देखिसकिएको छ भने बर्तमान बिश्व पूँजीवादी समाजमा एउटा बाहृय शक्तिको रुपमा मानिसमाथि ती आर्थिक परिस्थितिहरुको शासन हुन्छ जसको सृष्टि स्वयं मानिसले नै गरेका छन् । उनीहरुमाथि उत्पादनका ती साधानहरुको शासन हुन्छ जसको निर्माण स्वयं उनीहरुले गरेका हुन्छन् वा गरेका छन् । यसकारण ती प्रतिबिम्बहरु परावर्तक क्रियाको वास्तविक आधार बनिरहन्छन् जसले धर्मलाई जन्म दिन्छ । अनि त्यसको साथसाथै स्वयं धार्मिक प्रतिविम्ब पनि कायम रहन्छ (ड्यूहरिंग मत खण्डन, फेडरिक एंगेल्स) । यसरी माक्र्सवादले इतिहासको बैज्ञानिक ढंगले बिश्लेषण गर्दै महान समाजिक संघर्षहरुमा धर्मको जटील भूमिकालाई देख्न र बुझन सक्यो ।
ईसाई धर्मको मूल ती जन आन्दोलनहरुमा पाइन्छ जुन बिद्रोह रोमन साम्राज्यको पत्तन पछि उठेको थियो । त्यसैगरी इस्लाम धर्मको उदयको सिलसिलामा मार्क्स र एंगेल्स ‘बेदुइहरु’ र ’नागर’ जनका बीचका आन्तरिक संघर्षहरु र अबिशिनियावाट अरब प्रायद्वीप मुक्त गराउने तथा लामो समयदेखि निष्कृय भएको ब्यापारिक बटो फेरि कब्जा गर्ने बढ्दो अरब जातिय चेतनालाई रेखाकित गरेका छन् । त्यसैगरी ‘प्रोटेस्टान्ट’ धार्मिक सुधार मतको उदयलाई पतनशील सामन्ती ब्यवस्था र उदीयमान पूजीपति बर्ग बीच चलिरहेको जटील बर्ग संघर्षको अभिब्यक्तिको रुपमा हेरिएको थियो । प्रोटेस्टान्ट धर्मप्रतिको अमिटता उदीमान पूँजीपति बर्गको अजेयतासँग गाँसिएको छ । (एंगेल्स ः फायरबाख)। माक्र्स र माक्र्सवादीरुका लागि धर्म ती समाजिक परिस्थितिहरुको उपज हो जुन सामाजिक परिस्थितिमा मानिस रहेको हुन्छ र अहिले पनि रहिरहेको छ । धर्मको इतिहास एक अर्थमा मानवीय बिकासको इतिहासको प्रतिविम्ब पनि हो । त्यसैले चेतनाका अन्य रुपझै धर्म स्वतः सम्पूर्ण बस्तु होइन, वास्तविक संसारको नै प्रतिविम्ब हो ।
जबसम्म मानिसले प्रकृतिका शक्ति र सामाजिक शक्तिहरु जसले उनीहरुको दैनिक अस्तित्वलाई निर्धारण गर्दछन्, तथा उनीहरुको भाग्यलाई सञ्चालन गर्दै रहेको देखिन्छ, लाई बुझदैनन् एउटा अलौकिक तथा संसार बाहिरको सत्ताको कल्पनाको आवश्यकता भइरहन्छ । यसरी धर्मले मानिसहरुको लागि राहत, सौन्दर्य र आश्वासनको यस्तो एउटा संसार बसाइदिन्छ जुन कुरा मानिसले आफ्नो वास्तविक जीवनमा प्राप्त गर्ने गर्दैन । यसको साथै कुनै खाश चरणमा समाजमा चलिरहेको बर्ग संघर्ष पनि त्यस बेलासम्म धार्मिक भाषामा अभिब्यक्त गर्न सकिन्छ जबसम्म धर्म बिचारधाराको नै सबैभन्दा प्रमुख रुप बनिरहन्छ । अहिले जहाँसम्म कुनै खाश चरणमा भइरहेको बर्ग संघर्षको धर्ममा अभिब्यक्तिको प्रश्न छ, त्यो अभिब्यक्ति जुन सीमासम्म पुगेको छ त्यसै हदसम्म शासक बर्गीय बिचारधाराका अन्य रुपहरु जस्तै धर्म पनि शासक र शोषक बर्गको हतियार पनि बन्दछ र त्यस खाश शासनको बैधता साबित गर्ने साधन पनि ।
बिश्वमा पहिलो पटक शोषित पीडित राज्य स्थापना गर्ने महान लेनिनले भनेका छन् – ‘धर्म आत्मिक शोषणको एउटा रुप हो जसले प्रत्येक ठाउँमा ती जन समुदाय, जो निरन्तर अर्कोको लागि काम गर्ने गर्दछन् र अभाव तथा बञ्चनाबाट पहिलेदेखि ने संत्रस्त छन्, तिनको जीवनलाई अझ बोझिलो बनाइदिन्छ । शोषक बर्गका बिरुद्ध संघर्षमा शोषित बर्गको असक्तताले मृत्युपछिको अधिक सुखद जीवनमा अनिवार्यरुपले त्यसैगरी उनीहरुमा बिश्वास पैदा गरिदिन्छ जसरी प्रकृति बिरुद्धको संघर्ष वा त्यस्तो संघर्षको सिलसिलामा असभ्य जंगली जातिहरुको नपुंसकताले देवताहरु, दानवहरु, चमत्कारहरु आदिमा तिनको बिश्वाको सृष्टि गरिदिएको थियो । जो मानिस आफ्नो जीवनमा बडो मेहनत, परिश्रम गर्दछन् र अभावमा जीवन ब्यतित गर्दछन् उनीहरुलाई धर्मले यो जीवनमा बिनम्र हुने र धैर्य गर्ने तथा परलोकको सुखको आशावाट सान्त्वना प्राप्त गर्ने शिक्षा दिन्छ । तर जो मानिस अर्काको श्रममाथि निर्भर र परजीवी हुन्छन् उनीहरुलाई धर्मले यस जीवनमा बत्सलताको ब्यवहार गर्ने–(दीन दुःखीहरुमाथि दया गर्ने) शिक्षा दिन्छ र यसरी शोषक बर्गको रुपमा आफ्नो सम्पूर्ण अस्तित्वलाई सिद्ध गर्ने एउटा सस्तो सुत्र बनाइदिन्छ अनि स्वर्गमा सुख प्राप्त गर्ने टिकट सस्तो मूल्यमा बेचिदिन्छ’ । यसैले माक्र्सवाद अनुसार धर्म, एउटा खाश चरणमा, सामाजिक परिस्थितिको अनिवार्य उपज हो र अर्को अवस्थामा बर्गीय शोषणको अभिब्यक्ति तथा शासक बर्गको बर्गीय बिचारधाराको अभिन्न अङ्ग पनि । ठीक यसै कारणले मार्क्सवाद र एक मात्र मार्क्सवादले नै धर्मको ब्युत्पत्ति, त्यसको मूल तथा मानिसको मनमा त्यो अहिलेसम्म पनि हावी र प्रभावी भइरहनुको आधार बैज्ञानिक ढंगले बुझेर आधिकारिकरुपमा यसो भन्न समर्थ छ कि धर्मको भूमिका सामाजिक गठनको अवस्थाबाट निर्धारण हुन्छ । अनि ठीक यसैले, मार्क्सवादको हमला स्वयंमा धर्ममाथि हुँदैन बरु ती परिस्थितिहरुमाथि यसले धावा बोल्दछ जसले धर्मलाई उत्पन्न गर्दछन् । त्यो परिस्थितिमाथि तीब्र प्रहार हुन्छ जसले जनतामा धर्मको प्रभाव कायम राखिराख्ने गर्दछन् । किनकि धर्म कुनै स्वयंभू बस्तु होइन ।
मार्क्सवादले त्यो परिस्थितिलाई नै आधारभूतरुपमा परिवर्तन गर्न चाहन्छ र बदल्ने प्रयत्न गर्दछ जसले धर्मलाई आधार प्रदान गर्दछन् र बर्गीय उत्पीडनको औजारको रुपमा धर्मलाई कायम राख्दछन् । ड्यूहरिंगको कथन थियो कि समाजवादी किसिमको ब्यवस्थाले धर्मका सबै आवश्यक तत्वहरुलाई समाप्त गर्नुछ । यस तर्कको बिरुद्ध आफ्नो चर्चित र प्रसिद्ध बहसमा फेडरिक एंगेल्सले भनेका छन् – ’तर श्रीमान ड्यूहरिंग धर्मको आफ्नो मृत्यु स्वयं हुनेसम्म प्रतिक्षा गर्न तयार छैनन् । उनी भविष्यका आफ्ना सिपाहीहरुलाई धर्ममाथि हमला गर्नका लागि उक्साउँदछन् र यसरी धर्मलाई एक किसिमको सहादत तथा अझ बढी प्राण दिन मद्दत गर्दछन्’ । (एंगेल्स ड्यूहरिंग मत खण्डन)। मार्क्सवादीहरु भौतिकबादी हुन्छन् र त्यसो भएको हुनाले उनीहरुले एउटा बर्ग बिभाजित समाजमा धर्मको जटील भूमिकालाई बुझदछन् अनि त्यसको आकलन गर्न सक्तछन् ।
उनीहरुले यो पनि थाहा पाउँदछन् कि उपरी ढाँचामा एउटा रुपको आधारमा धर्म बर्गहहीन समाजको स्थापना पछि पनि लामो समयसम्म कायम रहिरहन्छ । मार्क्सवादीहरुको बिरोध धर्ममाथि नभएर त्यो धर्म खडा गर्ने समाजिक परिस्थितिमाथि हुन्छ । मार्क्सले भनेका छन्.– ’जनताको मिथ्या सुखको रुपमा धर्मको उन्मूलन गर्नु जनताको वास्तविक सुखको निमित्त आवश्यक छ । आफ्नो अवस्थाको सम्बन्धमा भ्रान्त धारणाहरुलाई तिलाञ्जली दिने माग हो यो जसमा भ्रान्तधारणाहरुको आवश्यकता हुन्छ । यस कारण धर्मको आलोचना बीजरुपमा दुःखको त्यस घाँटीको आलोचना हो जसको प्रभामण्डल धर्म हो’ । (हेगेल धर्म सम्वन्धि दर्शनको आलोचनामा योगदा, धर्म मार्क्स र एंगेल्स पृष्ठ ५१) धर्म सम्वन्धि मार्क्सवादी समझदारी यही हो ।र् धर्मको मार्क्सवादी मूल्यांकन, त्यसको मानवतावादी अन्तरबस्तु तथा बर्गीय शासनको औजारको रुपमा त्यसको उपयोग हुने कुरालाई समग्रतामा बुझनु जरुरी छ ।
कम्युनिष्टहरुले त्यो परिस्थितिलाई बदल्नका निमित्त काम गर्दछन् जुन परिस्थितिले मानिसमा धर्मको पकड कायम राख्दछ । यसरी स्वयंमा धर्ममाथि मार्क्सवादीहरुले हमला गर्दैनन् । किनभने मानव सभ्यताको सामाजिक गठनबाट स्वतन्त्र स्वयंमा कुनै भिन्नै बस्तु धर्म हुँदैन, होइन र हुन पनि सक्तैन । यसै कारणले लेनिनले भनेका छन् कि ‘शहरी सर्बहारा वर्गको पिछडिएको हिस्सामा र किसान जन समुदायमा धर्मको प्रभाव किन कायम रहेको छ (बुर्जुआ–पूँजीवादी), प्रगतिशील उग्रवादी या बुर्जुआ भौतिकबादीरु यस प्रश्नको उत्तर दिन्छन् – जनताको अज्ञानताको कारण । अनि यसैले धर्मको नाश होस् र वास्तविकता चीरञ्जीवी होस् ! नास्तिक(अनिश्वरबादीहरु)वादी बिचारहरुको प्रचार गर्नु नै हाम्रो मूख्य कत्र्तब्य हो’ । तर माक्र्सवादी कम्युनिष्टहरुले त्यसको उत्तर यसरी दिन्छन् – ’यो (उनीहरुको भनाई) सही होइन । यो एउटा सतही दृष्टिकोण हो । यसले धर्मको मूललाई पर्याप्त गहिराइपूर्वक ब्याख्या गर्दैन । यसले त्यसको (धर्मको) भौतिकवादी ब्याख्या गर्दैन, भाववादी(क्ष्मभबष्कित) ब्याख्या गर्दछ ।
आधुनिक पूँजीवादी देशहरुमा धर्मका यी जराहरु मूख्यतया सामाजिक छन् । आज धर्मको सबभन्दा गहिरो जराको कारण श्रमजीवी मेहनतशील जनताको सामाजिक रुपले पद दलित स्थिति तथा पूँजीबादका ती अन्धा शक्तिहरुका सामु प्रत्यक्ष देखिने त्यसो पूर्ण असहाय अवस्था हो जसले प्रत्येक दिन र प्रति घण्टा त्यससलाई सर्बाधिक भयंकर यातनाहरु तथा उत्पीडनहरुका चक्काले पिसिरहेको हुन्छ । यी यातना र यन्त्रणाहरु ती यातना र यन्त्रणाहरु भन्दा हजार गुणा कठोर हुन्छन् जुन युद्ध, भूइचालो आदि जस्ता असाधारण घटनाहरुका कारण जनताले भोग्नु ब्यहोर्नु परेको हुन्छ । ’’देवताहरुको जन्म भयवाट भएको हो । पूँजीको अन्ध शक्तिको भयवाट । यो शक्ति अन्ध यस कारणले हुन्छ कि जनताले त्यो शक्तिलाई पहिलाबाटै देख्न जान्न सक्तैनन् । यो शक्ति यस्तै हुन्छ । जुन सर्बहारा बर्ग तथा स–साना मालिकहरुको जीवनका हर कदममा न केवल ‘अचानक’, ‘अप्रत्याशित’, ‘बर्वादी’, ‘बिध्वंश’, ‘दरिद्रता’, ‘बेश्याबृत्ति’, ‘अनिकाल’, आदिवाट मर्ने डरले उनीहरुलाई आक्रान्त राखिएका हुन्छन् । अझ यस्ता कठिनाईहरुका पहाडहरु उनीहरुमाथि थोपरिदिने गर्दछन् । यी नै हुन् आधुनिक धर्मका जरा जसलाई भौतिकादीहरुले जो वास्तवमा दुधेबालक तालका भौतिकबादी होइनन् र त्यस्तो बनिरहन पनि चाँहदैनन्, सबभन्दा पहिला र सबभन्दा प्रमुखरुमा ध्यानमा राख्नु पर्दछ र राख्दछन् । यी जन समुदायको मानसपटलबाट, जुन मानसपटल पूँजीवादी श्रमको भारले थिचिएर मिचिएर दवेको छ, जसले कुनै पुस्तकको धर्मलाई निकाल्न सक्तैन, जवसम्म ती जन समुदाय स्वयं धर्मका यी उपर्युक्त जराहरुसँग लड्न सिक्तैनन् र लड्न सक्तैनन् ।
जवसम्म कि सर्बथा एकतावद्ध,संगठित र सुनियोजित तथा सचेत ढंगले उनीहरु पूँजीको शासनका सबै रुपहरुका बिरुद्ध संघर्ष गर्न सिक्तैनन् र संघर्ष गर्न सक्तैनन् ।’’ यस प्रकार धर्मको रक्षक हुने स्वयम्भू इजारेदार साम्प्रदायिक पूँजी तथा तिनको पृष्ठपोषक शक्तिहरुको दाबीलाई भण्डाफोर गर्नु र तिनलाई नङ्गयाउनु पनि आजको समाजिक परिस्थितिको बिरुद्ध संघर्षको एउटा प्रमुख अङ्ग हो । अनि यस्तो परिस्थिति बदल्नु नै मार्क्सवादी कम्युनिष्ट शक्तिहरुको प्रमुख लक्ष र कत्र्तब्य हो र हुनु पर्दछ । धर्मलाई बेढंगले यसको उत्पत्ति, बिकास र प्रभावको लेखाजोखा नगरी बिरोध गर्दा ढोंगी र पाखण्डी शक्ति र तत्वहरुलाई नै फाइदा पुग्ने गर्दछ र यसरी जनमुक्तिको आन्दोलन अल्मलमा पर्ने कुरा पनि प्रष्ट नै छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here