तामाङ र नेपालभाषा सरकारी कामकाजमा

12

जितेन्द्र रसिक

बागमती प्रदेश सरकारले तामाङ र नेपालभाषालाई यस प्रदेशको सरकारी कामकाजी भाषा बनाएको छ । भाषा ऐन, २०८० आएपछि वैशाख २४ देखि तामाङ र नेपालभाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागु गरिएको हो । यसले मुलुकभरका तामाङ र नेवाः समुदाय हर्षित भएका छन् ।

नेपालभाषा नेवा समुदायको मातृभाषा मात्र होइन, कुनै समय नेपाल खाल्डो (काठमाडौँ उपत्यका) को सम्पर्क भाषा थियो । यो भाषा नेपालका विभिन्न राष्ट्रभाषामध्ये एक पनि हो । बागमती प्रदेश सरकारले तामाङ र नेपालभाषालाई यस प्रदेशको सरकारी कामकाजी भाषा बनाएको छ । भाषा ऐन, २०८० आएपछि वैशाख २४ देखि तामाङ र नेपालभाषालाई सरकारी कामकाजी भाषाको रूपमा लागु गरिएको हो । यसले मुलुकभरका तामाङ र नेवाः समुदाय हर्षित भएका छन् । मुलुकभित्र र बाहिर रहेका नेवाः समुदायले वैशाख २४ लाई अस्तित्व प्राप्तिका दिनका रूपमा लिएका छन् । लामो समयको आन्दोलन र बागमती प्रदेशका मुख्यमन्त्री, मन्त्री, सभामुखदेखि सांसदहरूको विशेष भूमिकाका कारण भाषा ऐन आउन सफल भएको हो ।

मुलुकमा विविध जातजाति छन् । त्यसमा पनि नेवाः समुदाय प्राचीनकालदेखि शासक र शासित दुवैमा रहेर आएका र भाषा, संस्कृतिको क्षेत्रमा पहिचान बोकेको समुदाय हो । नेपालमण्डल (कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट तथा मकवानपुर) नेवारहरूको प्राचीन थलो हो । यसमा प्रायः सबैजसो इतिहासकारको मतैक्य रहेको छ तर नेवाःहरू कहिलेदेखि यहाँ बसोबास गरिआए, यिनीहरूको प्रारम्भिक अवस्था वा स्वरूप कस्तो थियो भन्ने कुरामा भने भिन्न भिन्न मत छ ।

वर्तमान समयमा नेपालको राष्ट्रभाषा नेपाली हो । यो समस्त नेपालीको साझा भाषा हो । नेपाली भाषा व्याकरण, कोश र साहित्यमा समृद्ध छ । नेपालका राष्ट्रिय भाषामध्ये व्याकरण, कोश, साहित्य आदि वाङ्मयले परिपूर्ण, समृद्ध भाषा नेवारी अर्थात् नेपाल भाषा पनि हो । नेपालभाषा त्रिविमा विद्यावारिधि तहसम्म पढाइ हुन्छ । यो भाषा प्राचीन भाषा हो । लिच्छविकालमा संस्कृत राजभाषा भएकाले नेवारी भाषाभाषीहरूले संस्कृतका पद–वाक्य सुन्ने बोल्ने काम भई नै रह्यो । लिच्छविकालीन संस्कृत भाषाका अभिलेखहरूमा नेपालभाषाका थुप्रै शब्द पाइन्छन् । मल्लकालमा आएर संस्कृतका ग्रन्थ र पाण्डुलिपिहरू पूर्ण शुद्धतासाथ नेवारी लिपिमा सार्ने काम भए । मल्लकालीन समयमा नेपाल भाषा नै कामकाजको भाषामा उपयोग भयो । नेवारी भाषालाई नेवाः भाषाका वक्ताहरू नेवा भाय, वा नेपालभाषा भन्ने गर्छन् ।

मल्लकालमै नेपालभाषा उन्नत बन्यो । सोही कालखण्डमा ताम्रपत्र, शिलालेख तथा आधिकारिक कागजात नेपालभाषामै प्रयोग भएको पाइन्छ । १६ औँ शताब्दीदेखि नेपालभाषामा साहित्य लेखनको विकास भयो । साहित्यमा नेपालभाषाका विविध लिपिमध्ये प्रचलित नेपाल लिपि, रञ्जना लिपि र भुजिमो लिपि प्रसिद्ध छन् तर प्राचीन ग्रन्थ र अभिलेखमा सबभन्दा बढी प्रयोग नेपाल लिपिकै थियो । नेपालभाषाका वाङ्मय मात्र होइन, संस्कृतभाषाका ग्रन्थसमेत नेपाल लिपिमा छन् । जब नेपालमा छापाखाना भित्रियो छापाखानामा नेपाल लिपिको व्यवस्था नभएकाले प्रचारप्रसारको दृष्टिले नेपालभाषा साहित्यको माध्यमिक कालमा तत्कालीन कवि लेखकले नेपाल लिपि छोडी देवनागरी लिपिमा लेख्न थाले । यसले प्रचलित नेपाल लिपि, रञ्जना लिपि र भुजिमो लिपिमा लेखन कम हुँदै गयो । १४ औँ शताब्दीदेखि १८ औँ शताब्दीको अन्त्यसम्म नेपालको अदालत र राज्यभाषाका रूपमा नेपालभाषा प्रयोग गरिएको थियो ।

आन्दोलन र प्राप्त उपलब्धि

‘नेपालभाषा आन्दोलन’ शीर्षकमा सानुराजा श्रेष्ठले गरेको शोधमा नेवाः समुदाय नेपालको इतिहास बोकेको नेवाः जाति भएको उल्लेख गरेका छन् । नेपाल खाल्डोमा आदिकालदेखि बसोबास गर्दै आएका नेवाः समुदायकै भाषा, कलाकौशलले नै देश समृद्ध रहेको छ । शोध परिचयमा लेखिएको छ ‘मल्लकालमा नेपाः देशमा राष्ट्रिय भाषाका रूपमा प्रचलनमा रहेको नेपालभाषा नेपाल एकीकरणका व्रmममा पृथ्वीनारायण शाहले नेपाल संवत् ८८० मा नेपाः देश (नेपाल) जितेपछि नेपालभाषालाई अनादर गरियो र पछि राणाकालमा त झन् नेपालभाषामा लेखिएका लिखतलाई सरकारी मान्यताबाट हटाइयो ।’ यसरी नेपालभाषामाथि पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेसँगै हस्तक्षेप हुँदै राणाकालीन समयदेखि नेपालभाषा सरकारी कामकाजबाट हटाइयो । भाषाको अस्तित्व सँगसँगै संस्कृति बचाउन नेवाःका कैयौँ पुस्ताले आन्दोलन गर्नु पर्यो र रगत बगाउनु पर्यो । राणा शासन हटेर २००७ सालमा प्रजातन्त्र आयो । त्यसपछि स्थापना भएका रेडियोमा नेपालभाषाका समाचार समेटिएपछि खडेरी परेको नेपालभाषाको फाँटमा शीत पर्यो । राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरेपछि फेरि नेपालभाषामाथि प्रहार भयो । रेडियो नेपालमा प्रसारण हुने समाचार हटाएर नेवाःमाथि प्रहार भयो । लगत्तै २०२२ सालमा रेडियो नेपालको नियमित कार्यक्रम  ‘जीवन दबु’ पनि हटाइयो । यसरी पञ्चायतकालभरि नेपालभाषामाथि प्रहार भइरह्यो । त्यो अन्धकार समयमा पनि नेपालभाषामा सिर्जना आन्दोलन भने सशक्त बन्दै गयो । पञ्चायती निरङ्कुश शासकविरुद्ध कविता र साहित्यिक सिर्जनाले व्यापकता पायो । कवि बुद्ध सायमि, पूर्णबहादुर वैद्य, योगेन्द्र प्रधान जस्ता सशक्त कविहरूले विम्ब र प्रतीकले पञ्चायती शासकको मर्ममा प्रहार गरिरहे । मल्ल के सुन्दर, पद्मरत्न तुलाधरलगायतका नेताहरूले नेपालभाषा आन्दोलनमा जागरण ल्याउनु भयो । जब २०४६ सालको आन्दोलनपछि पञ्चायत ढल्यो तब नेपालभाषा आन्दोलनले सशक्त रूप लियो । १० वर्षे माओवादी आन्दोलन र २०६२-६३ को जनआन्दोलनले ल्याएको परिवर्तनले २०७२ सालमा संविधान सभाले संविधान बनायो । यसपछि नेवाः युवा अभियन्ताहरू नेपालभाषा र नेवाः अधिकार स्थापनाका लागि निरन्तर आन्दोलनमा लागिपरे ।

स्वागतयोग्य कदम 

प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भयो । यो ऐन आएपछि मुलुकले पाएको सङ्घीयताको औचित्य झन् बलियो बनाएको छ । ऐन राजपत्रमा प्रकाशित भएपछि वैशाख २४ गते छ महिना पूरा गरेसँगै कार्यान्वयनमा आएको हो । यसलाई सङ्घीयताको उपलब्धि मान्न सकिन्छ । यसलाई पूर्णता दिन आवश्यक नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाउन ऐनको दफा १८ ले गरेको छ । यस दफामा भनिएको छ, ‘यस ऐनको कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाउन सक्ने छ ।’ भाषा ऐनले दिएको अधिकार व्यवस्थापन गर्न भने थुप्रै काम गर्न बाँकी छ । नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड तयार पार्दा भने प्रदेश सरकारले सरोकारवाला सबैलाई समेटेर सूक्ष्म रूपमै सुझाव सङ्कलन गर्न जरुरी छ । यसलाई अझ समृद्ध र व्यवस्थित गर्न÷गराउन सबै सरोकारवालासँग प्रदेश सरकारले समन्वय गर्न आवश्यक छ । त्यसो भयो भने यो ऐन र सङ्घीय व्यवस्थाप्रति सबैको अपनत्व बढ्ने छ ।

जनशक्तिको व्यवस्था

यो ऐन कार्यान्वयनमा ल्याउन नेपालभाषा अध्ययन गरेका विद्यार्थीलाई उपयोग गर्न सके सहज हुने छ । त्रिभुवन विश्वविद्यालयबाट नेपालभाषा केन्द्रीय विभागबाट र अन्य नेपालभाषा अध्यापन हुने क्याम्पसबाट उत्तीर्ण भएका जनशक्तिलाई आवश्यक तालिम दिएर प्रदेश सरकारले हरेक सरकारी निकायमा काम गर्न अवसर दिनु पर्छ । भाषाकै क्षेत्रमा अध्ययन गरेर बसेका यस समुदायका जनशक्तिको उच्चतम उपयोग गर्न सकिन्छ । नेपालभाषामै प्राज्ञिक अध्ययनको व्यवस्था लामो समयदेखि हुँदै आएको छ । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले महानगरका विद्यालयमा करिब डेढ सय शिक्षक माग भएकोमा पाँच सय जनाको निवेदन परेको थियो । यसले के देखाउँछ भने नेपालभाषा अध्ययन गरेका जनशक्ति उपत्यकामा पर्याप्त छन् । प्रदेश सरकारले ती जनशक्तिलाई उपयोग गर्न सके भाषा ऐन कार्यान्वयनमा सहज हुने देखिन्छ ।

२०४८ सालको जनगणना अनुसार देशभरि नेवारहरूको कुल जनसङ्ख्या १०,४१,०९० छ र मातृभाषाका रूपमा नेपालभाषा बोल्नेको सङ्ख्या ६,९०,००७ रहेको छ । २०७८ सालको जनगणनामा यो सङ्ख्या बढेर करिब साढे १३ लाख पुगेको छ, जसमध्ये नेपालभाषा बोल्नेको सङ्ख्या आठ लाख ६३ हजार ३८० जना रहेका छन् । नेपालभाषा निकै समृद्ध भाषा हो । मुलुकको प्राचीन इतिहाससम्म पुग्नु पर्यो भने नेपालभाषाको अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ । प्राचीन अभिलेखहरू नेपालभाषा र संस्कृतमा नै छन् । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here