प्रतिगामी सोचको विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन निर्देशन

31

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी सोचको विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन पार्टीका युवा–विद्यार्थीहरुलाई निर्देशन दिएका छन्।

मुलुकमा विद्यमान केही असन्तुष्टिलाई भड्काउने खालको प्रतिगामी सोचलाई युवा–विद्यार्थीहरुले आक्रामक रुपमा प्रतिवाद गरेर अघि बढ्नुपर्ने ओलीको भनाइ थियो।

पार्टीनिकट राष्ट्रिय युवा संघ, नेपालले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रतिगामीहरुले गरेका गलत प्रचारको खण्डन हुने गरी प्रचार अभियानको नेतृत्व लिन पनि पार्टीमा आबद्ध युवा–विद्यार्थीहरुलाई सचेत गराए।

अध्यक्ष ओलीले प्रतिगामी तत्वहरु मुलुकमा फेरि फर्कने सम्भावना नरहेको उल्लेख गर्दै त्यस्ता खालको गलत प्रचारको पछि कोही पनि लाग्न नहुने उल्लेख गरे। उनले जिम्मेवार भएर सामाजिक सञ्जालको प्रयोग गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। जथाभावी ढंगले सामाजिक सञ्जालको प्रयोग गर्न नहुने ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले एमाले मिसन–२०८४ को पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने काममा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here