मुख्यमन्त्री सरोजकुमार यादव आज प्रदेशसभामा विश्वासको मत लिने

21

जनकपुरधाम । जनता सामाजवादी पार्टी(जसपा) नेतृत्वको मधेस सरकार आज ढल्न लागेको छ ।

सत्ता घटक दलहरूले जसपा नेतृत्वको सरकारबाट बाहिरिँदै दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । हाल १०६ जना प्रदेशसभा सदस्य कायम रहेको मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सदस्यको समर्थनको आवश्यकता छ । तर मुख्यमन्त्रीको पक्षमा बहुमत छैन ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा समय मागेपछि ३ बजेका लागि बैठक बोलाइएको हो।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री प्रतिनिधित्व गर्ने दल जसपाका १९ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसले यादवको पक्षमा विश्वासको मत दिने निर्णय गरेको छ ।

कांग्रेसका २२ जना प्रदेशसभा सदस्य छन् । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले भने विश्वासको मत दिने अथवा नदिने निर्णय आज मात्र लिने जनाएको छ । यता, जनमत पार्टीको नेतृत्वमा बनेको नयाँ गठबन्धनसँग स्पष्ट बहुमत छ । सरकार बनाउन ५४ जना सदस्यको समर्थनको आवश्यकता रहेकोमा जनमत पार्टीका १३, नेकपा एमालेको २५, माओवादी केन्द्रको ९ र नेकपा एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन् ।

यस्तै, हाल लोसपाको ८ जना प्रदेशसभा सदस्य छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको १/१ जना प्रदेशसभा सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here